अलैंची उत्पादन बढे पनि किसानले पाएनन उचित मूल्य


७ माघ २०७७, बुधबार
alaichi

उदयपुर, ७ माघ । उदयपुरको पहाडी क्षेत्रमा वर्षेनी व्यापक अलैंची उत्पादन वृद्धि हुँदै आए पनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदेबालीको रुपमा रहेको अलैंची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् ।

कुनै समयमा राम्रो मूल्यमा बिक्री हुने गरेको कारण अलैंची खेतीमा हौसिएर जिल्लाका पहाडी क्षेत्रका किसानले अलैंची उत्पादन वृद्धि गर्न थाले पनि अहिले भने जस्तो उचित मूल्य पाउन नसक्दा अलैंची उत्पादक किसान निराश बन्न थालेका छन् । विगतका वर्षमा तीन हजारदेखि तीन हजार ५०० रुपैयाँ प्रतिकिलो मूल्यमा बिक्री हुने गरेको अलैंची अहिले ५०० रुपैयाँदेखि ८०० रुपैयाँसम्म मात्र भएपछि यहाँका अलैंची उत्पादक किसान अन्य कृषि बालीतर्फ आकर्षित हुने सम्भावना छ ।

जिल्लाको मध्यपहाडी क्षेत्रको रौता, भुटार, पाँबु, इनामे, नामेटार, तावाश्री, साउने खाँबु, अँधेरी, छामलिङ, आँपटारसहित पश्चिमी पहाडी क्षेत्रको बाहुनीटार, सोरुङ, सिरीसे, हर्देनी, मयङ्खु क्षेत्रका किसानले उत्पादन गर्दै आएको अलैँचीले यसवर्ष उचित मूल्य पाउन नसकेको किसान बताउँछन् ।

रौतामाई गाउँपालिका–५ आँपटारका अलैंची उत्पादक किसान वीरबहादुर राई आफूले केही वर्षयता आएर उत्पादन गरेको अलैंचीले उचित मूल्य नपाएकामा यस्तो गुनासो गर्छन् । ‘पहिला–पहिला अलैंचीको मूल्य राम्रो भएका कारण आर्थिक आम्दानीको लागि अलैंची खेतीमा लागियो, हिउँद, बर्खा दुःख ऋणपान गरेर अलैंची उत्पादन गर्न शुरु गयाँ, तर मंसिरदेखि अलैंचीको मूल्य पर्खेर बसँें, अहिले झनै घटेर ५०० रुपैयाँदेखि ८०० सम्म मात्र प्रतिकिलो मूल्य छ, यस्तो मूल्यमा कसरी दुःख गरेर उत्पादन गरेको अलैँची बिक्री गर्ने, आफूहरु निराश हुनुबाहेक अरु केही रहेन ।’

अहिलेको मूल्यमा अलैंची बिक्री गर्दा आफूहरुको आर्थिक लगानी र श्रम पनि नउठ्ने तथा अलैंची बारीमा काम गर्ने मजदूरको ज्याला समेत तिर्न नपुग्ने गुनासो ताप्ली गाउँपालिका तावाश्रीका पञ्चमान तामाङको रहेको छ । उनी भन्छन्, ‘बरु मंसिर–पुससम्म एक हजारदेखि एक हजार ५०० रुपैयाँ प्रतिकिलो मूल्य रहेको थियो, अहिले त झनै अलैँची व्यापारीले ५०० देखि ८०० रुपैयाँ प्रतिकिलोमा मूल्य झारे, अब अलैँची बिक्री गर्नु भन्दा आगोमा डढाएर मन बाध्नुबाहेक आफूहरुको अरु विकल्प छैन ।’

जिल्लाका सदरमुकाम गाईघाट तथा मुर्कची बजारका स्थानीय अलैंची खरीदकर्ताले विराटनगर इटहरी क्षेत्रमा अलैंचीको मूल्य घटेको भन्दै अहिले उदयपुरको पहाडी क्षेत्रमा उत्पादन हुने अलैंचीको मूल्य प्रतिकिलो ५०० रुपैयाँदेखि बढीमा एक हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरेपछि यस क्षेत्रका किसान मारमा पर्नु परेको किसानले व्यापक गुनासो गर्न थालेका छन् ।

उदयपुर गढी डुम्रेका अलैंची उत्पादक किसान रामबहादुर मगर भन्छन्, ‘पहिला–पहिला अलैंची प्रतिकेजीको मूल्य चार हजारसम्ममा बिक्री हुने भनेको सुनेर आफू पनि हौसिएर यो खेतीमा लागेका हौँं, तर दुई वर्षदेखि आफूले पनि अलैंची उत्पादन गरेर बिक्री गर्न शुरु गरेपछि मूल्य नै नपाउने गरेको कारण बेकारमा यो खेतीमा लागिएछ भन्ने पछुतो लाग्न थालेको छ ।’

पहिला अलैंची उत्पादनबाट राम्रो आर्थिक आम्दानी गर्न सकिन्छ भनेर व्यावसायिक रुपमा अलैंची खेतीमा लागे पनि वर्षेनी झनै अलैँचीको मूल्य घट्ने गरेको र अलैंची खरीदकर्ताले मूल्य नै दिन छाडेपछि अहिले उदयपुरका अलैंची उत्पादक किसान निराश बन्न थालेका हुन् । रौतामाई आँपटारका किसान हर्कधन राईका अनुसार पहिला अलैंचीको मूल्य धेरै राम्रो हुँदा धेरै किसान यसतर्फ आकर्षित भएका थिए ।

राईका अनुसार खोटाङ, भोजपुर सङ्खुवासभाका एक किसानले वर्षमा अलैंची बिक्रीबाट करोडौं कमाउँछन् भन्ने सुनेर आफू पनि हौसिएर व्यावसायिक अलैंची खेतीमा लागेको राई बताउँछन् । अहिले आफूले वार्षिक दशबोरासम्म अलैंची उत्पादन गर्न थालेपछि मूल्य नपाउँदा वर्षको दुई लाखमा पनि बिक्री गर्न मुश्किल हुने गरेको राईको गुनासो छ ।

गाईघाटका एक अलैंची खरीदकर्ता सुरेश साहका अनुसार नेपालका धेरै अलैँची विराटनगर हुँदै भारत पैठारी हुने गरेको र भारतीय व्यापारीले मूल्य दिन छाडेपछि विराटनगरका व्यापारीले पनि खरीद गरेको अलैँचीको उचित मूल्य नदिने गरेको कारण पनि आफूहरुले पनि अलैँचीको मूल्य किसानको मागअनुसार दिन नसक्ने बताउँछन् ।

अन्य पहाडी जिल्ला खोटाङ, सङ्खुवासभा, पाँचथर र इलामका किसानको अलैँची खेती र बिक्रीबाट आर्थिक आम्दानी भएको सुनेर र देखेर प्रभावित हुँदै १० वर्षदेखि यता आएर जिल्लाका पहाडी क्षेत्रका किसानले वर्षेनी व्यापक रुपमा अलैँचीखेती वृद्धि गर्दै आएका छन् ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार अहिले जिल्लाको पहाडी क्षेत्रमा झण्डै ५७ हेक्टर क्षेत्रफलभन्दा बढी जग्गामा व्यावसायिक अलैँची खेती हुन थालेको छ । चार वर्ष अघिसम्म जिल्लाको पहाडी क्षेत्रका विभिन्न स्थानमा झण्डै २९ हेक्टरमा अलैँचीखेती हुँदै आएको थियो भने अहिले व्यापक विस्तार हुँदै ५५ हेक्टर क्षेत्रफलमा उत्पादन हुन थालेको कृषि ज्ञान केन्द्रका सहायक अधिकृत नरनाथ रेग्मी बताउँछन् ।

केन्द्रका अनुसार अहिले जिल्लाको पहाडी क्षेत्रमा मुख्य गरेर डम्बरसाई, गोल्छाई र रामसाई जातका अलैंची उत्पादन हुने गरेको छ । किसानले दुःख गरेर उत्पादन गरेको अलैंचीको मूल्य केही बिचौलिया र व्यापारीले निर्धारण गर्ने गरेको र यसमा जनप्रतिनिधि र राज्यको समेत ध्यान जान नसक्दा किसान मर्कामा परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७