प्रचण्डको व्यङ्ग्य : जनयुद्ध शब्द नै सुन्न नचाहने ओलीले जनमुक्ति सेनालाई हेर्ने रे !


९ माघ २०७७, शुक्रबार
prachand

काठमाडौं, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेका कारण अहिले पूर्व माओवादीलाई प्रभावित गर्ने खेलमा लागिरहेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित सभालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतापछि पनि ओली जनयुद्धका शहीदहरुको सम्मान कार्यक्रममा कहिल्यै सहभागी नभएको कुरा आफूले नोट गरेको दाहालले बताए ।

उनले भने, ‘जनयुद्ध भनेपछि एक शब्द सुन्न नचाहने हुनुहुन्थ्यो । शान्ति सम्झौता भएपछि त अलिकति सुध्रिनु भयो कि भनेको एकतापछि पनि जनयुद्धका शहीदलाई सम्मान गर्ने एउटा कार्यक्रममा जानु भएन । अरु नेताहरु जानु भयो । केपी कहिल्यै जानु भएन । मैले त्यसलाई खुब नोट गरेको छु ।’ तर, पार्टी विभाजनले आफू अल्पमतमा परेपछि जनयुद्धका घाइते अपाङ्गलाई हेर्नुपर्दैन भनेर ओलीले उल्टै आफूमाथि प्रश्न उठाएको पनि दाहालले बताए ।

‘जनयुद्धका घाइते अपाङ्गहरु माइतीघरमा अनसन बस्दा, खुमलटार गएर अनेक गरेर ऋण, सापट खोजेर मैले बेलाबेला राहत दिने । सरकारलाई पटक–पटक यी घाइते, अपांगको उपचार गर्नुप¥यो । यो सरकारले त खाईपाई आएको सुविधा पनि काटेछ,’ दाहालले भने, ‘जनयुद्धका घाइते अपाङ्गहरु माइतीघरमा अनशन बस्दा गृह प्रशासन पनि केपीले जे भन्यो त्यही मान्ने छ । मैले धेरै पटकभन्दा कहींकतै टेडपुच्छर लागेन । उल्टो मासिक भत्ता खोसियो । अहिले पार्टी विभाजनमा ओली अल्पमतमा परेपछि म कहिलेकाहीं सुन्छु, ती घाइते अपाङ्गलाई हेर्नु पर्दैन प्रचण्डले भन्ने तीनै केपीले ? फट्याइँ गर्न कति सकेको ? जालझेल गर्न पनि कस्तो दिमाग हो ?’

ओलीले अहिले आएर कालीबहादुर खाम खोई भन्नु लाजमर्दो कुरा भएको दाहालको भनाइ छ । ‘अहिले केपीले कालीबहादुर खाम खोई अरे ? ती कालीबहादुर खाम आफैंले केही गरेको त हैन । उनको मुद्दा ठीक ढंगले हल होस् भनेर १०र११ वर्षदेखि म लागेको छु । उनलाई गाह्रो साह्रो परेको मैले हेर्न लगातार बल गरेको छु । अहिले त कालीबहादुर तपाईंलाई प्रचण्डले हेर्दैनन् केपीले भन्नु लाजमर्दो अरु के हुन्छ ?।’

उनले थपे, ‘प्रचण्डले जनमुक्ति सेना नहेर्ने रे केपीले…लाजै । त्यसैले जनयुद्धका कमाण्डर, साथीहरु ओलीको कुरामा गम्भीर नहुनुहोला । कमरेडहरु तपाईंहरुको योगदानको इतिहासमा स्वर्णीम अक्षरले नाम लेख्ने काम भएको छ । त्यसलाई कसैले कालो नपोतौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७