धनगढीमा प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन (फोटो फिचर)


१७ माघ २०७७, शनिबार
CPN protest Nepal

धनगढी, १७ माघ । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले शनिबार कैलालीको धनगढीमा शक्ति प्रदर्शन गरेको छ ।

प्रचण्ड–माधव समूहका कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीका अनुसार धनगढीमा हुने शक्ति प्रदर्शनमा ५० हजार भन्दा बढी कार्यकर्ता सहभागी भएका छन् । सभालाई नेकपा अध्यक्षद्धय प्रचण्ड र नेपाल, नेकपा सुदूरपश्चिमका ईञ्चार्ज भीम रावल लगायतले सम्बोधन गरे ।


ओली पार्टी र सडक दुबैमा एक तिहाइ मात्र : अध्यक्ष प्रचण्ड
सभालाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ ले घमण्ड देखाउँदै र फुर्किदै हिंडे पनि केपी शर्मा ओली पार्टीमा मात्र नभएर सडकमा समेत एक तिहाइ भएको बताए ।

पार्टीमा कमजोर भए पनि सडकमा बलियो छु भन्ने ओलीलाई पछिल्ला तीन (बुटवल, विराटनगर र धनगढी) दिनका सभाले फुच्चे सावित गरिदिएको उनले दावी गरे । ‘सुदूरपश्चिम प्रदेशमा सभा गरेपछि ओली अलि बढी घमण्डी बनेर फुर्किदै हिंड्नु भएको थियो’, उनले थपे, ‘आजको तपाईंहरुको यो उपस्थितिले ओलीको घमण्डलाई चकनाचुर बनाई दिएको छ, तपाईंहरुले सडकमा पनि ओली एकतिहाइ मात्रै हो भन्ने पुष्टि गरिदिनु भयो ।’

उनले अझै पनि संसद् बोलाएर ओलीलाई कारबाही गर्ने विकल्प रहेको बताए । प्रमुख प्रतिपक्षी कांग्रेस, जनता समाजवादी पार्टीलगायत सबैले प्रतिनिधिसभा विघटन भनिरहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘विकल्पको रुपमा सभामुखले संसद् बोलाउने र संसदको दुई तिहाईले केपी ओलीले गरेको राष्ट्रघातका लागि कारबाही गर्ने तागत राख्छ ।’

उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट दलालको पनि दलाल भएको बताए। आफूले नै अवसर दिएर पटक–पटक मन्त्री बनाएको मान्छे अहिले त सोच्नै नसकिने गरी कता हो कता गएको उनको भनाई छ । ‘मैले त सुदूरपश्चिमका साथीहरूलाई ठूलो नेता यही हो भनें तर अहिले दलालको पनि दलाल भए,’ उनले भने।

ओलीको पार्टी ‘डुप्लिकेट’ हो, कोही जानुभएको छ भने फर्किनुहोस् : नेपाल
नेपालले केपी शर्मा ओलीले ‘डुप्लिकेट’ पार्टी चलाइरहेको बताए । अध्यक्ष नेपालले सय जना केन्द्रीय सदस्य लिएर ओलीले डुप्लिकेट पार्टी चलाइरहेको बताएका हुन् ।

‘जहाँ ४४० को बहमत जहाँ हुन्छ त्यही पार्टी आधिकारिक हुन्छ’, उनले भने, ‘हामीले निर्वाचन आयोगलाई सबै सदस्यलाई बोलाएर सोध्न भनेका छौं ।’ उनले ४४० मध्ये सय जना पनि नभएको ओलीको पार्टी डुप्लिकेट पार्टी भएको बताउँदै त्यहाँ गएकालाई फर्किन आग्रह समेत गरेका छन् ।

‘४४० मध्ये ३ सय हामीसँग छन्, ओलीसँग सय जना पनि पुग्दैनन्, सय जना पनि नभएको पार्टी ओर्जिनल हुन्छ कि डुप्लिकेट रु’, उनले भने, ‘केपी ओलकिो पार्टी त डुप्लिकेट पार्टी हो, नक्कली पार्टी हो, त्यहाँ कोही जानु भएको छ भने फर्किहाल्नुहोस्, त्यहाँ अन्धकार मात्रै छ ।’

अध्यक्ष बहुमत भएकै पक्षमा सूर्य चिन्ह हुने भन्दै सूर्य चिन्ह आफ्नो पक्षले आउनेमा ढुक्क हुन कार्यकर्तालाई उनले आग्रह समेत गरे । उनले अध्यक्ष ओलीको चरित्र कम्युनिष्ट नभएको र उनी कम्युनिष्ट सक्ने अभियानमा सक्रिय भएको बताए । उनले प्रतिनिधि सभाको पुनस्र्थापन हुने र केपी युगको अन्त्य हुने दावी गरे ।

अध्यक्ष नेपालले आफूहरु उदाउँदो सूर्य र केपी ओली अस्ताउँदो सूर्य भएको बताएका छन् । उनले ओलीले एमाले र बहुदलीय जनवादको भ्रम छर्ने काम गरेको एमाले र माओवादी मिलेर नयाँ पार्टी बनेको भन्दै अब इतिहासमा फर्कन नमिल्ने बताए ।

वनमन्त्री नै वन तस्करको नाइके : भीम रावल

स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले वन तस्करकै नाइकेलाई वनमन्त्री बनाएको बताए । सभालाई सम्बोधन गर्दै नेता रावलले वनमन्त्री प्रेम आलेको नाम नलिइकनै भने, ‘लालझाडीदेखि तराईका रुख र चराचरहरुसमेत वन मन्त्रीबाट डराएका छन् ।’

ओली सरकारले अदालतबाट फरार अभियुक्त व्यक्तिलाई पार्टीमा भित्र्याउने, पशुपतिमा बत्ती बालेर अपराध पखाल्न खोजेको बताए । रावलले भने, ‘पशुपतिमा माफ माग्नु भन्दा जनतासमक्ष माफ मागेको भएर हुने ।’ ओलीले खल्तीबाट थपेका केन्द्रिय सदस्यहरु निर्वाचन आयोगको निर्णपछि सडक छाप भएको नेता रावलले टिप्पणी गरे ।

हेर्नुहोस् फोटो फिचर :

dhangadhi 1
dhangadhi 6
Dhangadhi 7
thumb 5
dhangadhi 10
dhangadhi 2
dhangadhi Nepal
Bhim rawal 1
CPN program in dhangadhi
dhangadhi protest
dhangadhi 2 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७