न्यायालयबाट कहिलेकाहीं अनुपयुक्त निर्णय आउँछ, तर जे भए पनि हाम्रो राजनीति सिद्धिदैन : प्रधानमन्त्री


११ फाल्गुन २०७७, मंगलवार
kp oli.jpg .2021 02 13

कञ्चनपुर,११ फागुन । संसद् विघटनलाई आफ्नो राजनीतिक बाध्यता भएको भन्दै अदालतले यसलाई सदर गर्ने दाबी गर्दै आएका प्रधानमन्त्री केपी ओलीले तीन महत्वपूर्ण सन्दर्भसहित पहिलो पटक संसद् पुनस्र्थापनाको सम्भावनातर्फ संकेत गरेका छन् ।

कञ्चनपुरमा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनस्र्थापना भए नयाँ प्रधानमन्त्रीको खोजी सुरु हुने, यसले आफ्नो राजनीतिमा कुनै फरक नपर्ने र कहिलेकाहीं न्यायालयबाट अनुपयुक्त निर्णय हुने गरेको सन्दर्भ जोडेर संसद् पुनस्र्थापनाको सम्भावना औंल्याएका छन् ।

‘यदि पुनस्र्थापना हुने हो भने के हुन्छ ? यसो कल्पना गरौं । पुनस्र्थापना हुने हो भने प्रधानमन्त्री खोज्न हिंड्नु पर्छ, प्रधानमन्त्री खोज्न पार्टी खोज्न हिंड्नु पर्छ । कुनै पार्टीको बहुमतको सरकार हुँदैन । त्यसो भएपछि समीकरणका अनेक खेल र सांसद किनबेचका खेल हुन्छन् । कसलाई कुन पद, कसलाई कुन पद, भागबन्डा यही तमासाको राजनीति फेरि सुरु हुन्छ,’ संसद् विघटनविरुद्धको रिटमाथिको सुनुवाइ सकिएको तीन दिनपछि प्रधानमन्त्री ओलीले भने ।

ओलीले कहिलेकाहीँ न्यायालयले समेत अनुपयुक्त निर्णय गर्ने गरेको भन्दै संसद् पुनस्र्थापनाको अर्को सम्भावनातिर संकेत गरे । ‘कुन समयमा न्यायालयले न्याय निरुपण कति गर्न सक्छ, त्यो बेग्लै कुरा हो । न्यायालयका सबै निर्णय सबै समयमा उपयुक्त नहुन पनि सक्छन् । त्यसै कारण मान्छेले पुनरावेदन गर्छन् । किन पुनरावेदन गर्छ ? पुनरावेदनबाट किन जित्छ फेरि ? कहिले–कहिले न्यायालयका फैसलाहरू उपयुक्त नहुन पनि सक्दारहेछन् । यो न्यायालयसँग सम्बन्धित कुरा हो ।’

प्रधानमन्त्री ओलीले भने, ‘त्यसको न्यायिक प्रक्रिया आफ्नो छ, तर हामी न्यायालयमाथि विश्वास गर्दछौँ ।’ उनले आफूले लोकतन्त्रमा न्यायालयलाई दबाब दिने, धम्क्याउनेमा विश्वास नगर्ने गरेको पनि सुनाए । ‘लोकतन्त्र, शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायालयको मर्यादा र त्यसमाथिको विश्वास आदिमा लोकतन्त्र बाँचेको हुन्छ,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले तेस्रो सन्दर्भका रूपमा अदालतबाट जस्तो फैसला आए पनि आफ्नो राजनीति नसिद्धिने बताए । ‘मैले विराटनगरमा बोल्दा भनेको थिएँ, केही मान्छेहरू यसो भयो भने त आफ्नो राजनीति नै सिद्धिन्छ भनेर छटपट–छटपट गरिराख्या छन् । हामी देश बनाउने अभियानमा छौँ, जस्तो भए पनि हाम्रो राजनीति सिद्धिदैन, केही भए पनि सिद्धिदैन । देश बनाउने हाम्रो अभियान र लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन अगाडि बढिरहन्छ मैले भन्या हुँ,’ प्रधानमन्त्री ओलीले भने ।

शनिबार विराटनगर पुगेर ‘सेटिङ’ मा संसद् पुनस्र्थापना भए आन्दोलन हुने चेतावनी दिएका ओलीले कञ्चनपुरमा पुगेर भने सफाइ दिए, ‘आन्दोलन भनेको उनीहरूले नाराजुलुस, ढुंगामुढा हान्ने के–के बुझेछन् । मैले त देश बनाउने आन्दोलन, लोकतन्त्रलाई सुदृढ बनाउने आन्दोलन भनेको थिएँ । लोकतान्त्रिक आन्दोलन भनेको समग्र राष्ट्रिय परिवर्तनको अग्रगामी आन्दोलन हो,’ ओलीले भने, ‘मैले हाम्रो आन्दोलन निरन्तर अगाडि बढिरहन्छ भनें । अरूले आन्दोलन गर्छु भनेर धम्की दियो भने । मैले कसैलाई धम्की दिइरहनुपर्ने कुनै आवश्यकता छैन । अदालतलाई हामीले धम्की दिने बानी पनि छैन । हामी स्वतन्त्र न्यायालय, शक्ति पृथकीकरणको सिद्धान्तलाई मान्छौँ ।’

प्रधानमन्त्री ओलीले अहिले आफूहरूको ध्यान विकासतर्फ केन्द्रित भएको बताए । प्रधानमन्त्री ओलीले नयाँ नक्सा जारीपछि मित्रराष्ट्र भारतसँग तथ्य, प्रमाणका आधारमा वार्ता गरिरहेको पनि सुनाए । ‘नेपालकै भूमि नक्सामा सामेल भएको, संवाद र वार्ताको विषय बनेको छ । छाङरूमा बिओपी राखेका छौँ, त्यहाँ जाने बाटो बनाउँदै छौँ । छाङरू दुर्गम थियो, अब रहँदैन । दार्चुलाबाट तिंकरको होस् वा उरैको नाकामा ध्यान दिएका छौँ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले अहिले जेमा पनि फोहोरी राजनीतिको खेल खेल्ने र तमासाको प्रवृत्ति आएको बताए । ‘समाजमा केही आपराधिक तत्व पनि छन् । विकृत मनस्थिति भएका तत्व पनि छन् । उनीहरूले अपराध कर्म गर्छन् । भर्खरै भागरथी भट्टको बलात्कार र हत्या भयो । केही मान्छेले त्यो दुःखद घटनामा राजनीति गर्ने चेष्टा गरे,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘अब निर्मला पन्तका हत्यारालाई पनि अविलम्ब सार्वजनिक गर्नोस् र अपराधीलाई न्यायको कठघरामा उभ्याउनोस् ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७