प्रधानमन्त्रीको असन्तुष्टि र ‘धम्की’ पछि निर्वाचन आयोगको सक्रियता : करिब २५ करोडको निर्वाचन सामग्री खरिद गर्दै


११ फाल्गुन २०७७, मंगलवार
nirbachan aayoga

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी ओलीले तयारीलाई लिएर असन्तुष्टि जनाएको र आफ्नो समूहलाई आधिकारिकता नदिए आन्दोलन गर्ने धम्की दिए लगत्तै निर्वाचन आयोगले निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ ।

आगामी वैशाख १७ र २७ गरी दुई चरणका लागि सरकारले तोकेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा प्रयोग हुने निर्वाचन सामग्री खरिद गर्न मंगलबार बोलपत्र आह्वान गरी सात दिनको सूचना सार्वजनिक गर्दैछ ।

करिब २५ करोड बराबरको निर्वाचन सामग्री खरिदका लागि मंगलबार बोलपत्र आह्वानको सूचना प्रकाशित हुने आयोगले जनाएको छ । निर्वाचनका लागि आवश्यक पर्ने कुल ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री खरिदका लागि मात्रै अहिले प्रक्रिया अगाडि बढाएको र बाँकी जिल्ला कार्यालयले खरिद गर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । श्रेष्ठले जिल्ला निर्वाचनले आवश्यक सामग्र्री बोलपत्र आह्वान नगरीकन सीधै खरिद गर्न सक्ने बताए ।

आयोगले मतदान केन्द्रमा आवश्यक ३६ किसिमका निर्वाचन सामग्रीलाई ११ वटा समूहमा समूहीकृत गरेको जनाएको छ । आयोगका अनुसार बोलपत्रदाताहरूले आयोगबाट ११ फागुनदेखि १७ फागुनभित्र बोलपत्र फाराम खरिद गर्न सक्ने र १८ गते दिनको १२ बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गराइसक्नु पर्नेछ ।

राजनीतिक रूपमा विभाजित नेकपाको दलको आधिकारिकतासम्बन्धी विवादको निरुपण नभइरहेका वेला प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले जनताले देखिने गरी काम नगरेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका थिए ।

गत शुक्रबार ७१ औं प्रजातन्त्र दिवसका अवसरमा संस्कृति मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित समारोह सम्बोधन गर्दै उनले भनेका थिए, ‘चुनाव गर्नुपर्ने निकायले चुनावको तयारी समयमा गर्नुपर्छ । मैले ५ पुसमा प्रतिनिधिसभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचन आयोगलाई दुई महिना एक दिनअघि नै अब चुनावको तयारी गर्नुस् भनेको छु । मैले अस्ति गएर सोधें, तयारी गरिरहेका छौं भन्नुभयो, तर कार्यक्रम प्रकाशित भएको छैन । केही भएको छैन । के तयारी गर्दै हुनुहुन्छ त्यति राम्रो देखिएको छैन ।’

उनले देखिने गरी निर्वाचन आयोगको तयारी नभएको भन्दै धम्कीपूर्ण भाषामा भनेका थिए, ‘यहाँ कतिपयले घोषणा गरेको चुनाव गराउनका लागि होइन भन्ने आरोप लगाउन खोजेका छन् । तर, चुनाव तोकिएकै समयमा गर्नका लागि मिति घोषणा गरिएको हो । म त्यसका विरुद्ध कुनै प्रकारको षड्यन्त्र नहोस् भन्न चाहन्छु ।’

त्यसको भोलिपल्ट नेकपा ओली समूहले विराटनगरमा गरेको सभालाई सम्बोधन गर्ने क्रममा पनि उनले दलको आधिकारिकतासम्बन्धी विवादको विषयलाई लिएर आयोगलाई चेतावनी दिएका थिए । ‘०४७ सालमा मैले नै हो एमालेको सूर्य चिह्न वैधानिक रूपले दर्ता गराएको । मैले धेरैपटक सूर्य चिह्नबाट चुनाव लडेको छु । चुनाव चिह्न हामीले नै पाउँछौँ । नपाउने कुनै कारण छैन । कुनै पनि जालझेल, सेटिङ भए हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ ।’

आयोगले तोकिएको चुनावका लागि आवश्यक बजेट तर्जुमा गरेर पठाएपछि अर्थ मन्त्रालयले सात अर्ब रकम छुट्याइसकेको छ । आयोगले निर्वाचनको तयारी एवं व्यवस्थापनका लागि सात अर्ब सात करोड ९४ लाख ८० हजार माग गरेको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७