काठमाडौं महानगरले तोक्यो कोरोनाविरुद्धको खोप लगाउने १५ केन्द्र

बिहान १० बजेदेखि ४ सम्म पायक पर्ने केन्द्रमा खोप लगाउन सकिने


२२ फाल्गुन २०७७, शनिबार
korona khop scaled

काठमाडौं, २२ फागुन । दोस्रो चरणको कोभिड– १९ विरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले १५ खोप केन्द्र तोकेको छ । २३ फागुनबाट सुरु हुने अभियानमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी तथा सार्वजनिक यातायातका चालक र सहचालकलाई खोप दिने तयारी छ ।

खोप केन्द्र अस्पताल नै हुनुपर्ने प्राबधानले महानगरभित्रका १५ वटा अस्पतालमा खोप केन्द्र तोकिएको छ । महानगरपालिकाले परिचय खुल्ने फोटोसहितको परिचयपत्र देखाएपछि तोकिएकामध्ये पायक पर्ने अस्पतालमा खोप लगाउन सकिने जनाएको छ ।

बिहीबार मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा खोप व्यवस्थापनका लागि पालिका समन्वय समितिको बैठक बसेको छ । ‘पाको उमेरका व्यक्तिलक्षित समूहमा परेकाले आराम गर्ने तथा तातो वा चिसो पानी र बिस्कुटको व्यवस्था गरिनेछ,’ बैठकमा मेयर शाक्यले भने, ‘सबैको पहुँचमा खोप पुर्‍याउने र खोप केन्द्रमा कमभन्दा कम भिड गराउने प्रयास हुनेछ ।’

तोकिएकाबाहेकका अस्पतालले पनि खोप कार्यक्रम सञ्चालन गर्न चाहे महानगरले सघाउने उनले बताए । एउटा केन्द्रमा दुई जना खोप दिने र ६ जना स्वयंसेवक खटाउने तयारी छ । महानगरमा करिब दुई लाख १५ हजार व्यक्ति खोपका लक्षित समूहमा छन् । तीमध्ये करिब एक लाख ५० हजार खोपका लागि आउने अनुमान महानगरले गरेको छ ।

जनस्वास्थ्य महाशाखा प्रमुख रामप्रसाद पौडेलका अनुसार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । उनका अनुसार खोप लगाउन जाँदा नागरिकता, मतदाता परिचयपत्र, चालक अनुमतिपत्र वा कार्यालयको परिचयपत्रमध्ये एक लिएर जान सकिन्छ । परिचयपत्र उपलब्ध नहुनेका लागि सिफारिस आवश्यक पर्नेछ ।

खोप केन्द्रहरू

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु, (वडा १२, १३, १४, २० र २१)

वीर अस्पताल (वडा २२, २३, २४, २७ र २८)

छत्रपाटी निःशुल्क चिकित्सालय (वडा १६, १७, १८, १९, २४ र २५)

परोपकार स्त्री तथा प्रसूतिरोग अस्पताल (वडा १०, ११, २८ र २९)

निजामती कर्मचारी अस्पताल (वडा १०, ३१ र ३२)

मदरल्यान्ड अस्पताल, सिनामंगल, पेप्सीकोला (३२ र ६)

काठमाडौं मेडिकल कलेज, सिनामंगल (वडा ९, ३० र ३१)

ओम अस्पताल एन्ड रिसर्च सेन्टर (वडा ४, ५, ६, ७ र ८)

स्तुपा अस्पताल, बौद्ध (वडा ६, ७ र ८)

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र (वडा ३, ४ र ५ )

त्रिवि शिक्षण अस्पताल (वडा ३, ४ र ५)

हिमाल अस्पताल, नक्साल (वडा १, ५, २९ र ३०)

नेपाल प्रहरी अस्पताल, महाराजगन्ज (२, १६ र २६)

सैनिक अस्पताल, छाउनी (वडा १३, १४, १५ र १९)

जनमैत्री अस्पताल, बालाजु (वडा १६ र २६)
नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७