नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ९३५ थपियो


२५ फाल्गुन २०७७, मंगलवार
korona covid scaled

काठमाडौं, २५ फागुन । नेपालमा कोभिड– १९ बाट मृत्यु हुनेको संख्या तीन हजार ११ पुगेको छ । स्वास्थ्य मन्त्रालयले पहिला सार्वजनिक गरेको तथ्यांकमा ९३५ मृतकको संख्या थप भएको जनाएको छ ।

सरकारी रेकर्डमा नरहेका, तर कोभिडबाट मृत्यु भएकाको ठूलो संख्या पाइएपछि मन्त्रालयले समिति नै बनाएर तथ्यांक खोज्न सुरु गरेको थियो । करिब पाँच महिना लामो छानबिनपछि मृतक संख्यामा ९३५ छुटेको पुष्टि भएको हो ।

तर, यो पनि मन्त्रालयको अन्तिम तथ्यांक भने होइन । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले तथ्यांक छानबिन कार्य जारी रहेकाले संख्या अझै बढ्न सक्ने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको तथ्यांक नमिलेपछि सरकारले कोरोनाबाट मृत्यु हुनेको यकिन तथ्यांक पत्ता लगाउन २ कात्तिकमा समिति गठन गरेको थियो ।

नेपालमा कोभिड १९ को पहिलो केस गत वर्षको ९ माघमा देखिएको थियो । त्यसयता सोमबारसम्म दुई लाख ७४ हजार ८१० जनामा संक्रमण देखिएको छ । तीमध्ये दुई लाख ७० हजार ९२७ जना निको भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । सक्रिय संक्रमित आठ सय ७२ जना छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९ जनामा संक्रमण देखिएको छ । ४२ जना निको भएर घर फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ । अहिलेसम्म २१ लाख ९७ हजार २३५ जनाको पिसिआर परीक्षण गरिएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७