नेपाल–खनाल पक्षसँग संवाद खुलाउँदै ओली, फकाउन चियापान गर्दै


२ चैत्र २०७७, सोमबार
Nepal Oli Khanal

काठमाडौं, २ चैत । एकलौटी बैठकको निर्णयले नेपाल–खनाल पक्ष आक्रामक प्रतिवादमा उत्रिएपछि प्रधानमन्त्री केपी ओलीले दूरी घटाएर संवाद अघि बढाउन वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित सबै केन्द्रीय सदस्यलाई प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएका छन् ।

नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाको अघिल्लो दिन ३ चैतमा प्रधानमन्त्री ओलीले नेपाल र खनालसहित सबै केन्द्रीय सदस्यलाई बालुवाटारमा चियापान कार्यक्रममा बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीका तर्फबाट महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेताद्वय नेपाल र खनालसहित स्थायी कमिटी सदस्यहरूलाई टेलिफोनबाट चियापान र अनौपचारिक संवादका लागि निम्तो दिएका छन् । त्यस्तै, प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले सबै केन्द्रीय सदस्यलाई मोबाइलमा निम्तोसहितको सन्देश पठाएका छन् ।

‘३ चैतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यूले सबै केन्द्रीय सदस्यहरूलाई चियापान तथा अनौपचारिक संवादका लागि बालुवाटारमा बोलाउनु भएको छ,’ उनका प्रमुख स्वकीय सचिव भण्डारीले भने, ‘दुई वरिष्ठ नेता र स्थायी कमिटी सदस्यहरूलाई महासचिवले फोन गरेरै निमन्त्रणा गर्नु भएको छ, केन्द्रीय सदस्यहरूलाई मोबाइलमा निम्तो पठाइएको छ ।’

नेपाल–खनाल पक्षका केन्द्रीय सदस्य गणेश पहाडीले बाह्रौँ बैठकको सन्दर्भमा ३ चैतमा बिहान ११ बजेका लागि अध्यक्ष ओलीका तर्फबाट निम्तो आएको जानकारी दिए । ‘बाह्रौँ केन्द्रीय कमिटी बैठकको सन्दर्भमा आयोजित अनौपचारिक चियापानमा निमन्त्रणा गरिन्छ भनेर निम्तो गरिएको छ,’ पहाडीले भने, ‘सर्वोच्च अदालतको फैसलापछि पार्टी केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा भनेर बोलाइएको भए राम्रो सन्देश जान्थ्यो, तर यो चियापान आफूले गरेको पछिल्लो निर्णयलाई वैधता दिन पो आयोजना गरिएको हो कि भन्ने देखिएकाले जाने कि नजाने छलफलबाटै टुंगोमा पुग्छौँ ।’

३ जेठ ०७५ मा पार्टीको नवौँ केन्द्रीय कमिटी बैठक बसेर निर्णय गरेयता वैधानिक रूपमा कुनै पनि बैठक नबसे पनि ओलीले गत शुक्रबार एकै दिन दुई पटक राखिएको बैठकलाई दशौं र एघारौं बैठकका रूपमा मानेर १२ औं बैठकको सन्दर्भमा चियापान भन्दै तिनै बैठकका अवैध निर्णयलाई वैधता दिने प्रयासस्वरूप चियापान आयोजना गरेको हुन सक्ने पनि पहाडीको दाबी छ ।

ओलीले ७ चैतमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् । तर, नेपाल–खनाल पक्षले भने २८ फागुनमा गुटको बैठक राखेर गरिएको निर्णयको खारेजी तथा पूर्ववत् रूपमा पार्टी संरचनालाई क्रियाशील गराइने सर्तमा मात्र बैठकमा सहभागी हुने सर्त अगाडि सारेको छ ।

नेपाल–खनाल पक्ष आक्रामक प्रतिवादमा उत्रिएपछि ओलीले संवाद खुलाउनकै लागि चियापान आयोजना गरिएको नेपाल–खनाल पक्षको बुझाइ छ । ‘नेकपाबाट दुवै समूह एमालेमा फर्किएपछि ओलीले संयुक्त बैठक बोलाएर मात्र निर्णय गर्नुपथ्र्यो, तर एकलौटी निर्णय गर्दा ब्याक फायर भएको स्वयं उनीनिकट नेताहरूको निष्कर्षपछि उनले चियापान बोलाएका हुन्,’ नेपाल–खनाल पक्षका एक नेताले भने, ‘त्यहीँ (ओली समूह) भित्र असन्तुष्टि चुलिएपछि संवाद खुलाउन र वातावरण मत्थर बनाउन चियापानको कूटनीति अपनाएको हुनुपर्छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७