एमालेका दुवै पक्षको अडान : कारबाही गर्न र भोग्न तयार


४ चैत्र २०७७, बुधबार
amale madhav

काठमाडौं, ४ चैत । सत्तारुढ एमाले फुटको सम्मुख पुगेको छ । वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल समूहले बुधबार र बिहीबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ भने अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षले ‘गुटगत भेला’ गरे कारबाहीको डण्डा चलाउने चेतावनी दिएको छ ।

अध्यक्ष ओली पक्ष २८ फागुनमा गरिएको केन्द्रीय सदस्यहरूको मनोनयन, नेताहरूको जिम्मेवारी हेरफेर, विधान संशोधनलगायत निर्णयबाट पछि नहट्ने मनस्थितिमा छ । तर, नेपाल–खनाल पक्षले पार्टी विधानविपरीत निर्णय गरिएको भन्दै खारेज गर्नुपर्ने अडान राखेको छ । राष्ट्रिय भेला नरोक्ने र ७ चैतमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा पनि नजाने बरु समानान्तर कमिटीको अभ्यास गर्ने यो समूहको तयारी छ ।

बालुवाटार र सानेपामा मंगलबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा पनि दुवै पक्षले अडानमा कायम रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा गरेको चियापान कार्यक्रमबाट भेला नरोकिए कारबाही गर्ने चेतावनी दिएलगत्तै अर्को पक्षले प्रतिवाद गरेको छ । भेलाको तयारीबारे जानकारी दिन नेपाल पक्षले गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफूहरू कारबाही भोग्न तयार रहेको, तर गलत कदमको मूकदर्शक भएर बस्न नसक्ने र भेला भव्य रूपमा सम्पन्न गर्ने बताए ।

‘भोलि भेला आह्वान गरेको छ रे ! नेकपा एमालेसँग आबद्ध, सम्बद्ध कोही नेता वा कार्यकर्ता गुटगत भेला नगर्न र नगराउन, त्यस्ता भेलामा सरिक नहुन, नजान, सहभागी नहुन म सम्पूर्णलाई सजग र सचेत गराउन चाहन्छु,’ मंगलबार आफ्नो सरकारी निवास बालुवाटारमा गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘यस पार्टीमा अबउप्रान्त अराजकता, अनुशासनहीनता, उच्छृंखलता जस्ता कुराहरू, विधिविधानविपरीतका कामकारबाही, पार्टीका एकताविरोधी क्रियाकलापलाई छुट हुँदैन । त्यस्ता कुराहरू मान्य हुन सक्दैन । त्यस्ता कुराहरूलाई हामी सहेर बसिरहन पनि सक्दैनौँ ।’ ओलीले बोलाएको चियापान कार्यक्रम नेपाल–खनाल पक्षले भने बहिष्कार गरेको छ ।

पार्टीभित्र केही मानिसले छुट्टै भेला र बैठक गरेर निहुँ खोजिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘पार्टी ०७५ जेठ ३ भन्दा अगाडिको स्थितिमा फर्कियो भनेपछि पनि केही मानिसहरू छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन् । निहुँ खोजिरहेका छन् । ७ चैतमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । उहाँहरू राष्ट्रिय भेला गर्ने, भेला बोलाउने, भेलाबाट प्रतिवेदन पास गर्ने रे ! समानान्तर कमिटी बनाउने रे !’ उनले भने, ‘समानान्तर होइन, अर्काे कमिटी बन्ला । कसैले अर्काे पार्टी बनाउँछ कि, कमिटी बनाउँछ त्यसमा के गर्न सकिन्छ र ?’

एउटै पार्टीभित्रै बसेर गरिने समानान्तर अभ्यास सह्य नहुने उनको भनाइ थियो । ‘अचाक्ली भो । पार्टीलाई पार्टीका रूपमा चल्न नदिने, जहिले पनि भाँडभैलो मच्चाउने । यो कुरा अबचाहिँ हुन सक्दैन,’ ओलीले भने, ‘अब अनुशासनहीन भयो भने पार्टीमा विधान छ । देशको कानुन छ । संविधान छ । संसद् नियमावली छ । दलसम्बन्धी कानुन छ । यी सबै कुरातर्फ म सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’

आफूले अराजकता नभएर सभ्य र अनुशासित समाज खोजेको ओलीले बताए । ‘हामीले खोजेको एनार्किजम होइन । हामीले खोजेको एउटा सभ्य र अनुशासित समाज हो । त्यस्तो समाज निर्माण गर्नका लागि पहिला पार्टी सही विचारको, सही ढंगले चलेको, एकताबद्ध र अनुशासित चाहिन्छ,’ उनले भने । त्यसपछि ओलीले लोकतन्त्र र कानुन के हो भनेरसमेत बोले । ‘आफ्ना अहं तुष्टिका लागि, अहंकारका लागि मनपरी गर्दैै हिँड्न कसैलाई पनि छुट हुँदैन । कोही पनि कानुनभन्दा माथि हुँदैन । कानुनका नजरमा सबै समान छन् । ‘डेमोक्रेसी’को आधारभूत कुरा त्यो हो । कानुनका नजरमा सबै समान छन्,’ उनले भने ।

नेपाल–खनाल पक्षका नेताहरू चियापानमा नआएकोमा ओलीले त्यसलाई राम्रो लक्षण नभएको टिप्पणी गरे । ‘कुनै कारणवश आउन भ्याउनु भएन होला भन्ने म ठान्छु । उहाँहरूले त्यस्तो निर्णय गर्नुभयो भनेको कुरा होइन होला भन्ने ठान्छु । अझै केही समय बाँकी छ । भोलिको भेला गर्नु हुन्छ कि गर्नुहुन्न ? कति तमासा गर्नुहुन्छ एक नजर त्यता राखिनेछ,’ उनले भने, ‘कसैले पार्टीलाई धम्क्याएर, घुक्र्याएर ठेगान लगाउँछु भन्ने सोचेको छ भने त्यस्तो होइन, पार्टी विधिविधान र तरिकाअनुसार चल्छ । नचाहिने कुराहरूका अगाडि लत्रिने कुरा छैन । सत्यसँग नलड्ने, निहँुखोजुवाहरूसँग नझुक्ने, हाम्रो नीति त्यही हो । सत्यसँग हामी लड्दैनौँ, बेठीक गर्नेहरूसँग झुक्दैनौं ।’

नेपाल–खनाल समूहका नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने ओलीको भनाइलाई ‘अहंकारपूर्ण अभिव्यक्ति’ भन्दै आफूहरू कारबाही भोग्न तयार रहेको बताए । ‘कारबाहीले मुलुक र राजनीति अगाडि बढ्दैन, पार्टी अगाडि बढ्दैन । प्रधानमन्त्रीजीको यो अहंकारपूर्ण अभिव्यक्ति हो,’ उनले भने, ‘हामीलाई कुनै दुःख छैन । हामी एकपछि अर्को कारबाहीका निम्ति तयार छौँ, लामबद्ध छौँ । त्यसका लागि हामीलाई कुनै पश्चात्ताप हुनेछैन । किनभने हामी मुलुक, संविधान र प्राप्त जनसमर्थनको रक्षाका निम्ति उभिएका मान्छे हौँ । हामीलाई त्यसमा कुनै हीनताबोध छैन ।’

अहं नत्यागे दुःखान्त स्थिति आउन सक्ने भन्दै भट्टराईले ओलीलाई चेतावनीमिश्रित सुझाब दिए । ‘इतिहासको कठघरामा उभिनुभएको छ । तपाईंले धेरै प्रश्नको उत्तर दिनुपर्नेछ । जब इतिहासले सोधेका प्रश्नहरूको उत्तर दिन तपाईंं असमर्थ हुनुहुन्छ, त्यो वेला इतिहासले तपाईंलाई कठोर कारबाही गर्छ,’ उनले भने, ‘सायद त्यो वेला तपाईंका निम्ति दुई थोपा आँसु चुहाउने मान्छे नहुन पनि सक्छन् । त्यो दुःखान्त स्थिति आउन सक्छ । त्यसैले धम्कीका भाषा नबोलौँ, संयमताका साथ अगाडि जाऔँ, हाम्रो आग्रह छ ।’

नेता भट्टराईले उत्तर कोरियाली शासक किम जोङ वुनकी बहिनी किम यो जोङले अमेरिकी राष्ट्रपतिविरुद्ध दिएको ताजा अभिव्यक्तिलाई प्रधानमन्त्री ओलीविरुद्ध कटाक्ष गर्न प्रयोग गरे । ‘उत्तर कोरियाका राष्ट्रपति किम जोङ वुनकी बहिनीले अमेरिकी राष्ट्रपतिलाई भनेको एउटा स्टेटमेन्ट पढेको थिएँ– ह्वाइटहाउसमा चार वर्ष शान्तिका साथ बस्ने हो भने बारुदको गन्ध फैलाउन बन्द गर । त्यो ज्यादै मार्मिक स्टेटमेन्ट छ । म पार्टीको तर्फबाट र प्रतिनिधिसभाको सदस्यका रूपमा पनि सम्माननीय प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु– अब दुई वर्ष तपाईंको बाँकी छ । चयनका साथ बस्नुहोस्, बारुदको गन्ध नफैलाउनुहोन् । यसले तपाईंलाई कहीं पनि पु¥याउँदैन,’ उनले भने ।

भट्टराईले मुलुक निकै संगिन मोडबाट अगाडि बढिरहेका वेला आवेग र उत्तेजनाले दुर्घटना निम्त्याउने भन्दै एमालेका नेता–कार्यकर्तालाई संयमता र धैर्यता अपनाउन आग्रह गरे । उनले प्रधानमन्त्री ओलीलाई बुद्धको देशमा शान्तिको भाषा हुने भन्दै शक्तिको भाषा नबोल्न अनुरोध गरे । ‘नेपाल पक्षको राष्ट्रिय भेलामा को जान्छ नजर राखिने’ भन्दै ओलीले दिएको अभिव्यक्तिको पनि भट्टराईले जवाफ दिए ।

‘राष्ट्रिय भेलामा आफ्ना अनुयायीहरूलाई त्यता पनि नजर लगाउनू भनेर भन्नुभएको रहेछ । उहाँको तर्फबाट को–को नजर लगाउन आउनुहुन्छ, परिचयसहित आए हुन्छ । उहाँहरूलाई स्वागत छ,’ उनले भने, ‘यो राष्ट्रिय भेला तपाईंकै हो, तपाईं नै प्रमुख अतिथि भएर यो भेलाको उद्घाटन गर्नुहोस् । कसैलाई तपाईंले नजर लगाउन खटाउनै पर्दैन । देशभरबाट को–को आएका छन् तपाईं नै हेर्नुहोस् र भेलाको प्रमुख आतिथ्यता ग्रहण गर्नुहोस् । देशभरबाट आएका तपाईंकै कार्यकर्ता र सदस्य हुन् । उनीहरूसँग के भन्न मन छ भन्नुहोस् ।’

मंगलबार साँझ महासचिव ईश्वर पोखरेलले पनि विज्ञप्ति जारी गर्दै राष्ट्रिय भेलामा सहभागी हुनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । ‘यस्तो अनधिकृत गुटगत भेला नगर्न–नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा एमाले सबै नेता–कार्यकर्तालाई विशेष निर्देशन गर्दछ । अन्यथा मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावलीबमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

५ पुसमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेदेखि प्रस्ट रूपमा अलग–अलग बाटो लागेका एमालेका नेताहरू २३ फागुनको सर्वोच्च अदालतको पार्टी आधिकारिकतासम्बन्धी फैसलाले पुनः एकै ठाउँमा आउने परिस्थितिमा पुगेका थिए । तर, २८ फागुनमा ओली पक्षले एकलौटी रूपमा केन्द्रीय सदस्य थप्नेदेखि नेताहरूको जिम्मेवारी हेरफेर गर्नेसम्मका निर्णय गरेपछि दुई खेमाबीच थप दूरी बढेको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा दुवै पक्षका शीर्ष नेताहरूबीच विवाद समाधानका विषयमा छलफल भए पनि कुनै सहमति बन्न सकेको थिएन । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७