भूप सैनिकले अब घरगाउँकै बैंकबाटै पेन्सन पाउने


१० फाल्गुन २०७४, बिहीबार
Stone hurl
Stone Hurl_Janaboli

बाग्लुङ, १० फागुन : सेवा निवृत्त भारतीय सैनिकहरूले पाउने मासिक निवृत्तिभरण भत्ता (पेन्सन) अब स्थानीय बैंकहरूबाट बुझ्न पाउने भएका छन् । पेन्सन बापतको रकम बुझ्न हरेक छ–छ महिनामा पेन्सन क्याम्प धाउन बाध्य भुपू सैनिकले आफ्नै घरगाउँमा पेन्सन बुुझ्न पाउने भएका हुन् ।

Stone hurl
सरकारले हरेक स्थानीय तहमा बैंक स्थापना गर्ने घोषणासँगै भारतीय सेनाले भूतपूर्व सैनिकहरूलाई स्थानीय तहमा स्थापना हुने बैंकमार्फत पेन्सन बुझ्ने व्यवस्था मिलाउन लागेको भारतीय सेनाका कल्याणकारी कोष हेर्ने प्रमुख लेप्टिनेन्ट जनरल आरपी सिंहले बताए । प्रमुख सिंहले पेन्सन बुझ्नकै लागि सैनिक बोर्डमा धाउनुपर्ने अवस्थाको अन्त्य गरी हरेक व्यक्तिको बैंक खातामार्फत पेन्सन बुझ्ने व्यवस्था मिलाउन लागेको बताए । बाग्लुङ आएका सिंहले जति छिटो स्थानीय तहमा बैंक स्थापना हुन्छन्, त्यतिनै छिटो यो प्रक्रियालाई अगाडि बढाइने जानकारी दिए । ‘सम्पूर्ण भूपूहरूलाई सहज हुने गरी आ–आफ्नौ स्थानिय तहमा पेन्सन वापतको रकम पठाउने तयारीमा छौं,’ सिंहले भने, ‘यस्तो व्यवस्थाले पेन्सन वापतको रकम बुझ्न छ महिना कुर्नुपर्ने तथा अञ्चलभरका भूपूहरू बाग्लुङ बजार धाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’

भारतीय सेनाको यो घोषणासँगै धौलागिरीका करीब १० हजार भूपू सैनिकलाई नियमित पेन्सन बुझ्न सहज हुने भएको छ । अहिलेसम्म केही भुपू सैनिकहरूले एसबिआइ बैंक र एभरेस्ट बैंकमार्फत पेन्सन बुझ्ने गरे पनि अधिकांशले सैनिक बोर्डले हरेक छ÷छ महिनामा गर्ने पेन्सन क्याम्पमार्फत पेन्सन बुझ्ने गरेका छन् । ‘नेपालका हरेक गाउँपालिका र नगरपालिकामा एउटा बैंक अनिवार्य खुल्छ भन्ने सुनेका छौं, जहाँ जुन बैंक खुल्छ त्यही बैंकको सहकार्यमा पेन्सन वितरणको प्रक्रिया अगाडि बढाउँछौं’, सिंहले भने । पेन्सनको व्यवस्था बैंकमार्फत गर्न सके धेरैलाई सहज हुने सैनिक बोर्डका जिल्ला इन्चार्ज पूर्णबहादुर थापाले बताए । ‘धौलागिरिका सबै भुपूहरूले पेन्सन बुझ्ने बाग्लुङबाट हो, टाढा टाढाबाट बूढाबुढीलाई बोकेर ल्याउन अप्ठ्यारो छ, अब सबै स्थानीय तहमा बैंक स्थापना भएपछि सबैलाई सहज हुन्छ’–उनले भने । धौलागिरीमा रहेका करीब १० हजार भारतीय पूर्व सैनिकका लागि छ महिनामा ५० करोड रुपियाँभन्दा बढी वितरण हुँदै आएको छ ।

भारतीय भूपूका लागि पेन्सन वापत आउने रकमलाई बैंकमार्फत वितरण हुने व्यवस्था मिलाउन बैंकहरूसमेत तयार रहेको बैंकर्सहरू बताउँछन् । ‘बैंकले जहाँ बढी आर्थिक कारोबार हुन्छ त्यहीँ ध्यान केन्द्रित गर्ने हो’ बैंकर्स राजेन्द्र शर्माले भने, ‘धौलागिरीका हरेक स्थानीय तहमा ठूलो संख्यामा भुपूहरू भएकाले स्थानीय तहमा बैंक सञ्चालनमा पनि सहजता आउन सक्छ ।’ यसैगरी भारतीय सेनामा कार्यरतहरूलाई निःशुल्क स्वास्थ्य कार्यक्रमअन्तर्गत नेपाल र भारतमा उपचार गर्न पाउने व्यवस्था गरिने भारतीय दूतावासका रक्षा सहचरी कर्नेल अवनीस चम्बयाल एसएसले बताए । ‘भारतीय सेनामा बहालवाला सबैको परिचयपत्र बनेको छ, सोहीअनुसार भुपू सैनिकहरूलाई पनि यो व्यवस्था गर्न लागेका छौं ।’ यो समाचार कारोबार दैनिकले लेखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७