विदेशबाट फर्केको भोलिपल्टै श्रीमानको मृत्यु, खानामा विष मिसाइएको पाइएपछि श्रीमती पक्राउ


१० बैशाख २०७८, शुक्रबार
pakrau
सांकेतिक तस्विर

भक्तपुर, १० बैसाख । खानामा विष मिसाएर खुवाई श्रीमानको हत्या गरेको अभियोगमा भक्तपुरमा एक महिला पक्राउ परेकी छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–४ बस्ने ३२ वर्षीय विष्णु थापा मगरको पाँच वर्ष पहिले वैदेशिक रोजगारीबाट फर्किएको भोलिपल्टै मृत्यु भएको थियो । भिसेरा रिपोर्टमा उक्त दिनको खानामा विषादी मिसाएर खुवाएको पाइएको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले बताए ।

२०७२ माघ २७ गते वैदेशिक रोजगारबाट २२ महिनापछि फर्केका विष्णुको भोलिपल्टै मृत्यु भएको थियो । घटनाको पाँच वर्षपछि विष्णुकी २९ वर्षीया श्रीमती पार्वती थापालाई प्रहरीले पक्राउ गरेको हो । पार्वतीले छोरा छोरीलाई अघिल्लो दिन बेलुकाको बासी खाना खुवाई स्कुलतर्फ पठाएको र गहतको दाल, अण्डा करी, भात खाएका विष्णु बिरामी भएपछि तत्काल उपचारको लागि मध्यपुर अस्पताल भक्तपुर लगिएको थियो ।

सोही दिन १२ः४० बजे उनको मृत्यु भएको थियो । उनको मृत्युपछि घटनाको अनुसन्धानका लागि पार्वतीले नै प्रहरीमा जाहेरी दिएकी थिइन् । अनुसन्धानको क्रममा मृत्तकको भिसेरा, घटनास्थलबाट उठाइएको गहतको दाल, अण्डा करी, भात तथा मुछिएको खाना समेतको परीक्षणको लागि प्रयोगशाला पठाइएको थियो ।

त्यसको रिपोर्टमा किटनाषक बिषादी फेला परेको रिपोर्ट आएको थियो । भक्तपुर जिल्ला अदालतबाट गत मंगलबार अनुमति लिएर पार्वतीलाई पक्राउ गरिएको डीएसपी गिरीले जानकारी दिए । पार्वतीको पर–पुरुषसँग सम्बन्ध रहेका कारण उक्त घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । धादिङको मुलपानीका उनीहरु भक्तपुरमा डेरा गरी बस्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७