साइबेरियाली बकुल्ला महोत्तरीमा


१४ बैशाख २०७८, मंगलवार
Bird in pokhara scaled
फाइल फोटो

महोत्तरी, १४ बैैसाख । जलेश्वर । महोत्तरीको गौशाला नगरपालिका–५ बस्ने हजारी साहको अहिले दैनिक २ घण्टा इलाका प्रहरी कार्यालय गौशालाको वरिपरि बित्ने गर्दछ । उनी जस्तै स्थानीय सञ्जय चौधरी, विजय साह र जीवन लामाले पनि विगत १४–१५ दिनदेखि दैनिक इलाका प्रहरी कार्यालय गौशालाको वरिपरि आएर २–३ घण्टा बिताउने गरेको बताए ।

पशु हाट बजारको लागि प्रख्यात महोत्तरीको गौशाला नगरपालिका केही वर्षदेखि साइबेरियन बकुल्लाको बास स्थान बनेको छ । खास गरेर नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय गौशालाको परिसरमा रहेका दर्जनौँ रुख अहिले साइबेरियन बकुल्लाले गर्दा सेताम्मे बनेका छन् ।

सात समुन्द्र पारीबाट विगत १०–१२ वर्षदेखि निरन्तर प्रत्येक चैत महिनाको अन्तिम तथा वैशाखको शुरुआतसँगै इलाका प्रहरी कार्यालय गौशालामा हजारौंको संख्यामा ती बकुल्ला आउने गरेको स्थानीय रविन्द्र उप्रेतीले बताए । गर्मीको अवसर पारेर प्रजनन तथा बच्चा कोरल्न सही र उपयुक्त स्थान ठान्दै ती बकुल्ला यहाँ ५–६ महिनासम्म बस्ने गरेको उनले बताए ।

जताततै सेतासेता र लामा चुच्चो भएका बकुल्ला देख्दा गौशालामा जोकोहीको मन लोभिने र घण्टौँ बिताएर जाने गरेको शिक्षिका सुनिता महतोले बताए । उनले ती बकुल्ला इलाका प्रहरी कार्यालय गौशालाका अग्ला अग्ला मसला, आँप, साल, सिसौँका बोट नै छोपिने गरी बस्ने र २४ सै घण्टा विभिन्न आवाज निकालेर सबैलाई आफूतिर आकर्षित गर्ने गरेको बताए ।

साना, ठूला बकुल्लाको झुण्ड चैत वैशाखमा यहाँ आएर गर्मीभर प्रजनन र बच्चा कोरलेपछि असोज कात्तिकतिर जाडो सुरुआतपछि साइबेरियातिर फर्किने गरेको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले बताए । मेयर महतोले नेपालमा कतै पनि नभएर गौशाला नगरपालिकामा नै प्रत्येक वर्ष आउने यी बकुल्लाले गौशालालाई पर्यटन र पंक्षी विशेषज्ञलाई आकर्षित गर्न सफल भएको बताउँछन् । साथै ६ महिनाको बसाइमा बकुल्लाले यहाँको वातावरणलाई मधुर र रमणीय बनाइदिने गरेको उनको बुझाइ छ ।

उनले ती बकुल्लालाई थप बास स्थान र पर्याप्त चाराका लागि गौशाला नगरभरि नै विशेष प्रकारका बिरुवा रोप्ने र खाली चौरमा विभिन्न प्रजातिका बोट विरुवा लगाउने अभियानको थालनी गर्न लागेको बताए । बकुल्लाले स्थानीय मानव एवम् अन्य पशुपंक्षी तथा बालीनालीमा कुनै प्रकारको क्षति र हानी नगर्ने हुनाले सबैले यसलाई मन पराउने गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले बताए ।

स्थानीय समाजसेवी दिनेश महतोले वर्षेनी आउने यी बकुल्लालाई गौशालामै टिकाउन पर्याप्त बास स्थान र चाराको व्यवस्थापन गरी यसको संरक्षण र सम्बर्धन गर्नुपर्ने धारणा राखे । उनले यसको संरक्षण, सम्वर्धनले गौशालाको पर्यटन बढाउन साथै विज्ञको सोधखोजको गन्तव्य बन्ने धारणा राखे । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७