‘नेकपालाई ‘च्याम्पियन’ बनाउने आकांक्षा थियो, विभाजनकारी सोचले दिएन’ (पूर्णपाठ)


३ जेष्ठ २०७८, सोमबार
kp oli 20210419163111

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको च्याम्पियन बनाउने इमान्दार प्रयास सफल हुन नसकेको बताएका छन् । २८ औं मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा वक्तव्य जारी गर्दै उनले केही विभाजनकारी, अस्थिर र अवसरवादी सोचले लक्ष्य पूरा हुन नदिएको बताएका छन् ।

‘तीन वर्ष अगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचमा पार्टी एकीकरण गरेका थियौं । यो विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक– आर्थिक रूपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो । तर, कतिपय नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन । आज नेकपा (एमाले) उक्त एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित भएको छ । हामी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृतःसङ्कल्पित छौं’, अध्यक्ष ओलीले भनेका छन् ।

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको आजै चितवनको दासढुङ्गामा रहस्यमय दुर्घटनामा निधन भएको थियो । त्यो रहस्य आजपर्यन्त उद्घाटित भएको छैन ।

प्रधानमन्त्री ओलीले मदन–आश्रितको निधन नेपालको कम्युनिष्ट आन्दोलनका लागि एउटा अपूरणीय क्षति र गम्भीर धक्काको विषय रहेको बताएका छन् । कतिपय विरोधीहरुले नेताद्वयको निधनसँगै नेपाली कम्युनिष्ट आन्दोलन ओह्रालो लाग्दै समाप्त हुने भविष्यवाणी समेत गरेको बताएका छन् । “तर ती सबै अनुमान र भविष्यवाणीहरू व्यर्थ सावित भएका छन् । निश्चय नै, यस अवधिमा हामीले गम्भीर धक्का बेहोरेका छौँ । विभाजन, एकीकरण र पुनः विभाजनको प्रक्रियाबाट गुज्रेका छौँ । प्रतिगमन र हिंसाका दुष्चक्रको सामना गर्न बाध्य भएका छौं’, उनले स्मरण गरेका छन्।

‘यी सबका बाबजुद कम्युनिष्ट आन्दोलन निरन्तर नयाँ उचाइतिर अगाडि बढिरहेको छ, किनभने भौतिक शरीर नरहे पनि उहाँहरूले हामीलाई सही विचार र सुदृढ संगठन छाडेर जानुभएको थियो । आज कम्युनिष्ट आन्दोलनको पहल र नेतृत्वमा राजतन्त्रको अन्त्य भएर मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । जनताका प्रतिनिधिहरूबाट निर्मित प्रगतिशील संविधान जारी भएको छ । आज नेपाली कम्युनिस्ट आन्दोलन मुलुकको मुख्य शक्तिका रूपमा स्थापित भएको छ र नेकपा (एमाले) मुलुकको प्रमुख राजनीतिक दलका रुपमा सरकारको नेतृत्व गरिरहेको छ ।’
पूर्णपाठ

1 4
2 4
3 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७