‘माओवादी पृष्ठभूमिका नेता–कार्यकर्ताको एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन हुन्छ’


३ जेष्ठ २०७८, सोमबार
Shankar Pokharel शंकर पोखरेल

लुम्बिनी, ३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिनु पर्ने बताएका छन् ।

जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८औं स्मृति दिवसका अवसरमा आज मदन भण्डारी फाउन्डेशनद्वारा भर्चुअलरुपमा आयोजित ‘समकालीन विश्व परिस्थिति र माक्र्सवादको सान्दर्भिकता’ विषयक जननेता भण्डारीको कोलकोतामा प्रस्तुत कार्यपत्र (पुस्तक) मा आधारित अन्तरक्रियामा पोखरेलले एमालेभित्रको विवादको समाधान कार्यदलमार्फत हुने स्पष्ट गरेका हुन् ।

एमालेभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा गठित कार्यदलका सदस्य पोखरेलले ‘जनताको बहुदलीय जनवाद’ को मार्गदर्शनमा रहेर यसलाई अझ विकास गर्दै समृद्धिको यात्रामा पार्टी र सरकारको नेतृत्व सफल हुने विश्वास व्यक्त गरे । विश्वमा क्रान्तिपछिको रुपान्तरणमा समाजवादी पार्टीमा अलमल देखिने भए पनि नेपालका सन्दर्भमा उपयुक्तरुपमा क्रान्तिका कार्यभार पूरा गर्न जबज सार्थक रहेको उनले टिप्पणी गरे।

‘एकैपटक समाजवादी कार्यक्रम कि पुँजीवादी क्रान्तिको उपचरण हुँदै समाजवादको यात्रा भन्ने सन्दर्भमा कम्युनिष्ट आन्दोलनमा हाल दुईथरी धारणा देखिए पनि राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै क्रमशः समाजवादमा जाने वर्तमान सरकारको सोच र कार्यक्रम उपर्युक्त छ’, उनले भने, ‘एमाले संशोधनवादको विरोधी पार्टी हो तर हामी उग्र क्रान्तिकारितामा पनि विश्वास गर्दैनौं ।’

कार्यक्रममा एमालेका नेता युवराज कार्कीले जनताको अभिमत लिएर शासन गर्ने र पार्टीलाई लोकतान्त्रिक ढङ्गले सञ्चालन गर्न सकेमा जबजको विचारको सम्मान हुने बताए । फाउन्डेशनका केन्द्रीय सदस्य टीकाप्रसाद ढकालले माक्र्सवादी विचार र समाजवादी आन्दोलन विश्वबाट समाप्त हुँदैछ भन्ने पुँजीलाई मतलाई भण्डारीले उक्त पुस्तकबाट विश्वसामु नै सशक्त वैचारिक प्रतिकार गरेको बताए । फाउन्डेशनका सचिव पेम्बा लामाले जननेता भण्डारीका विचारलाई समयसापेक्ष विचारका रुपमा स्थापित गर्न बौद्धिक जगतमा अध्ययन र छलफल निरन्तर सञ्चालन गर्ने जनाए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७