मदन भण्डारी अर्थात् शताब्दी नायक


३ जेष्ठ २०७८, सोमबार
PM Kp Sharma oli
?????????????????

आज जेठ ३ गते, मदन-आश्रित स्मृति दिवस । २८ वर्ष अगाडि आजैका दिन रहस्यमय दासढुङ्गा दुर्घटनामा नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज मनीषीहरु जननेता मदन भण्डारी र कुशल सङ्गठक कमरेड जीवराज आश्रितको दुःखद निधन भएको थियो । २८ औं स्मृति दिवसको सन्दर्भमा म नेकपा (एमाले)को सम्पूर्ण पार्टी पङ्क्तिका तर्फबाट दिवंगत नेताहरुप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

नेपाल राष्ट्र तथा नेपाली जनताका लागि जननेता मदन भण्डारीका योगदानहरु दूरगामी महत्वका र अतुलनीय छन् । मदन भण्डारी नवीन विचारका प्रतिपादक र मौलिक सिद्धान्तका अन्वेषक हुनुहुन्थ्यो । नेपाली समाजको ऐतिहासिक विकासक्रम तथा विशेषता, माक्र्सवादका आधारभूत सिद्धान्त र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरुको गहन अध्ययन एवं समीक्षामाथि आधारित भएर उहाँले जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गर्नुभयो । माक्र्सवादका विश्वव्यापी सच्चाइलाई नेपाली क्रान्तिको ठोस व्यवहारमा लागू गर्ने क्रममा आविर्भाव भएको जबज आज नेपाली क्रान्तिको सिद्धान्तका रुपमा स्थापित भएको छ । जबजले लोकतन्त्रलाई सामाजिक न्यायसँग जोड्न, कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण गर्न एवं प्रतिकूलताका बीचमा पनि नेपाली कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउन सफल मार्गदर्शन गरिरहेको छ । विगत दशकहरुमा नेपाली समाजमा देखा परेको हिंसात्मक आन्दोलनको शान्तिपूर्ण अवतरण, एकदलीय शासन व्यवस्थाका पक्षधरहरु लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यता स्वीकार्न तयार भएको अवस्था र नवउदारवादका पक्षधरहरु समेत सामाजिक न्याय र लोककल्याणकारी समाज व्यवस्थाका पक्षमा उभिन वाध्य भएको स्थितिले जबजको सहीपना अकाट्य ढङ्गले पुष्टि भएको छ । समाजवाद निर्माणको हाम्रो आगामी यात्रामा पनि जबजले निरन्तर मार्गदर्शन गरिरहने छ ।

शताब्दी नायक

मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण धरोहर हुनुहुन्थ्यो । तत्कालीन नेकपा (माले) लाई शान्तिपूर्ण आन्दोलनको अग्रणी शक्तिका रुपमा स्थापित गर्दै उहाँले त्यतिबेलाको शक्ति सन्तुलनका आधारमा आन्दोलनको उपयुक्त लक्ष्य, कार्यदिशा र नारा तय गर्न अगुवाइ गर्नुभयो । संयुक्त वाम मोर्चा गठन गर्न पहल गर्नुभयो । एवं, नेपाली काङ्ग्रेसलाई संयुक्त जनआन्दोलनका लागि सहमत गराउन निर्णायक भूमिका खेल्नुभयो । कमरेड पुष्पलालले अगाडि सार्नुभएको तर उहाँको जीवनकालमा साकार हुन नपाएको संयुक्त जनआन्दोलनको कार्यदिशा कमरेड मदन भण्डारीको नेतृत्वकालमा सफल हुन सक्यो । उहाँले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित दायराबाट बाहिर निकालेर सामाजिक जीवनका समग्र पक्ष एवं मानवीय आकांक्षाको समष्टिका रुपमा नयाँ उचाइबाट परिभाषित गर्नुभयो । जनताको जीवनसँग जोडिन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुन सक्ने कुरामा उहाँले विशेष जोड दिनुहुन्थ्यो ।

madan bhandari

मदन भण्डारी प्रगतिशील राष्ट्रवादका संवाहक हुनुहुन्थ्यो । नेपालको राष्ट्रिय हित रक्षाका लागि अविचलित अडान राख्दै उहाँले राष्ट्रियताको आन्दोलनलाई सही ढङ्गले परिभाषित समेत गर्नुभयो । ती मान्यताहरु राष्ट्रिय हितको रक्षाका लागि आज पनि उत्तिकै सान्दर्भिक र मार्गदर्शक रहेका छन् ।

सिद्धान्तको निम्ति जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ भन्ने मान्यता राख्नु हुने, राष्ट्र र जनताको हितमा अविचलित ढङ्गले उभिने र अत्यन्त प्रभावकारी भाषामा जनतालाई सम्वोधन गर्न सक्ने मदन भण्डारी भूमिगत जीवनबाट सार्वजनिक भएको छोटो समयमै जनतामाझ अत्यन्त लोकप्रिय हुनुभयो । सार्वजनिक सर्वेक्षणमा शताब्दी नायकका रुपमा चयन हुनु भएका मदन भण्डारी नेपाली जनताको मनमा ‘जननेता’का रुपमा स्थापित हुनुभएको छ ।

तत्कालीन सङ्गठन विभाग प्रमुख कमरेड जीवराज आश्रित नेपाली कम्युनिष्ट आन्दोलनका एकजना भरोसायोग्य नेता हुनुहुन्थ्यो । आधारभूत वर्गबाट उठेर पार्टी नेतृत्वमा पुग्न सफल उहाँ पार्टीको बलियो सङ्गठनात्मक आधार निर्माणका अग्रणी हुनुहुन्थ्यो । उहाँले हुर्काउनु भएका सयौं कार्यकर्ताहरु आज आन्दोलनको अग्रमोर्चामा स्थापित छन् ।

जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको निधन नेपालको कम्युनिष्ट आन्दोलनका लागि एउटा अपूरणीय क्षति र गम्भीर धक्काको विषय थियो । कतिपय विरोधीहरुले उहाँहरुको निधनसँगै नेपाली कम्युनिष्ट आन्दोलन ओह्रालो लाग्दै समाप्त हुने भविष्यवाणी समेत गरेका थिए । तर ती सबै अनुमान र भविष्यवाणीहरु व्यर्थ साबित भएका छन् । निश्चय नै, यस अवधिमा हामीले गम्भीर धक्का बेहोरेका छौँ । विभाजन, एकीकरण र पुनः विभाजनको प्रक्रियाबाट गुज्रेका छौँ । प्रतिगमन र हिंसाका दुष्चक्रको सामना गर्न वाध्य भएका छौँ ।

यी सबका बाबजुद कम्युनिष्ट आन्दोलन निरन्तर नयाँ उचाइतिर अगाडि बढिरहेको छ, किनभने भौतिक शरीर नरहे पनि उहाँहरुले हामीलाई सही विचार र सुदृर संगठन छाडेर जानुभएको थियो । आज कम्युनिष्ट आन्दोेलनको पहल र नेतृत्वमा राजतन्त्रको अन्त्य भएर मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । जनताका प्रतिनिधिहरुबाट निर्मित प्रगतिशील संविधान जारी भएको छ । आज नेपाली कम्युनिष्ट आन्दोलन मुलुकको मुख्य शक्तिका रुपमा स्थापित भएको छ र नेकपा (एमाले) मुलुकको प्रमुख राजनीतिक दलका रुपमा सरकारको नेतृत्व गरिरहेको छ ।

आजको चुनौती र सङ्कल्प

तीन वर्ष अगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचमा पार्टी एकीकरण गरेका थियौं । यो विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक–आर्थिक रुपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो । तर कतिपय नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन । आज नेकपा (एमाले) उक्त एकीकरणको बिरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित भएको छ । हामी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृतःसङ्कल्पित छौँ ।

जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको २८ औं स्मृति दिवसका सन्दर्भमा आज हामीले सङ्कल्प गर्नु पर्दछः हामी जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने छौँ । अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गरीछाड्ने छौं । राष्ट्रियताको सम्वद्र्धन र राष्ट्रिय हितको रक्षाका लागि अविचलित रुपमा क्रियाशील रहने छौँ । अनि यी उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकतावद्ध, जनआधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने छौँ । फेरि एकपल्ट, जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली !

(मदन आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेकपा (एमाले) अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको विज्ञप्ति)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७