दलित बस्तीमा ज्वरोको प्रकोप : संक्रमणको डरले जाँदैनन् जचाउन


१२ जेष्ठ २०७८, बुधबार
cover siraha2021 05 26 02 46 53

लहान, १२ जेठ । कोरोना महामारीका वेला सिराहाको लहान नगरपालिकाअन्तर्गत उत्तरी क्षेत्रका दलित बस्तीमा पछिल्लो दुई सातादेखि रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको छ । ज्वरो र रुघाखोकीले थलिए पनि स्वास्थ्य चौकीमा जचाउन जाँदा कोरोना संक्रमण हुन सक्ने त्रासले बिरामीहरू गाउँमै बसिरहेका छन् ।

लहान नगरपालिका– १५ अन्तर्गत पर्ने लग्राहा (सिसवनी), बानो, वीरनगर, मेनहर्वा, ढोढनाका प्रायः हरेक घर दलित बस्तीमा पछिल्लो तीन सातादेखि फैलिएको ज्वरोको प्रकोपले गर्भवती, सुत्केरी, बालबालिका, वृद्धवृद्धा बिरामी परेका छन् । लहान– १५ मेनहर्वाकी ५० वर्षीया आशा सदायले भनिन्, ‘घरमा काम गर्न सक्ने जति सबै ज्वरोले थलिएका छौं, स्वास्थ्य चौकी जान सकेका छैनौं, स्वास्थ्यकर्मी गाउँमा आउँदैनन् ।’

उनले दलित बस्तीका अधिकांशमा करिब दुई सातादेखि टाउको दुख्ने, ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएको बताइन् । उनले भनिन्, ‘घरबाट स्वास्थ्य चौकीसम्म पुग्न करिब दुई किलोमिटर हिंड्नु पर्छ, निषेधाज्ञाले काम नहुँदा हातमुख जोड्न पनि मुस्किल परिरहेका वेला लहानसम्म पुगेर कसरी उपचार गराउनु ?’

मेनहर्वा गाउँका ४७ वर्षीय रामे सदायले बस्तीमा वैशाखको अन्तिम सातादेखि फैलिएको ज्वरोले गाउँका बालबालिका, वृद्धवृद्धा बढी थलिएको बताए । ‘हरेक घरमा बालबालिकादेखि वृद्धवृद्धालाई ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लागेको छ,’ सदायले भने, ‘गाउँमा स्वास्थ्यकर्मी आएका छैनन्, बिरामी पनि जान सकेका छैनन् ।’

ढोढनाको सिसवनी गाउँको ४३ घरधुरीको मुसहरबस्तीमा पनि ज्वरोको प्रकोप फैलिएको स्थानीय राजकुमार सदायले बताए । मजदुरी गरेर जीविका चलाउँदै आएका बस्तीका मानिस करिब दुई सातादेखि ज्वरोले थलिएपछि चुलो बाल्नसमेत अप्ठ्यारो परिरहेको सदायले उल्लेख गरे । सिसवनीकी गाउँकी ५३ वर्षीया मूर्तिदेवी सदायले करिब १० दिनदेखि ज्वरोले थलिएको बताइन् । ‘टाउको दुख्छ, खोकी पनि आइरहेको छ,’ उनले भनिन्, ‘घरको देखभाल गर्ने वृद्ध पति ननुवा सदाय समेत ज्वरोले थलिएपछि घर चलाउन अप्ठ्यारो परेको छ ।’

चुलो बाल्नै सकस

बस्तीमा ज्वरोको प्रकोप फैलिएर काम गर्न सक्नेजति थलिएपछि बिहान–बेलुका हातमुख जोड्न पनि गाह्रो परिरहेको स्थानीय ५३ वर्षीया सुर्जीदेवी सदायले बताइन् । ‘बजारमा ठेला मजदुरी गर्न जानेहरू निषेधाज्ञाले घरमै थुनिएर बस्नुपर्दा रोजीरोटी खोसिएको छ,’ सदायले भनिन्, ‘गाउँमा अन्य काम पनि नपाउँदा अप्ठ्यारोमा छौँ ।’

कोरोना भाइरस संक्रमणको पहिलो लहरमा स्थानीय सरकारले दैनिक ज्यालादारी गर्ने, गरिब, विपन्न परिवारलाई स्थानीय सरकारले राहत सामग्री दिएको भए पनि दोस्रो लहर सुरु भएको दुई साताभन्दा बढी बित्दै गर्दा राहत नपाउँदा चुलो बाल्न अप्ठ्यारो परेको उनीहरू बताउँछन् ।

तर, लहान– १५ का वडाध्यक्ष तेजनारायाण चौधरीले भने रुघाखोकी र ज्वरोका बिरामीलाई स्वास्थ्य चौकीमा आउन खबर पठाउँदा पनि नआएको बताए । उनले ज्वरोले थलिएकामा कोरोना भाइरस संक्रमणको आशंका गरिएको उल्लेख गर्दै त्यसका लागि नगर स्वास्थ्य शाखासँग समन्वय गरी दुई–तीन दिनभित्र वडा कार्यालयमा स्वास्थ्यकर्मीको टोली ल्याएर परीक्षण गरिने योजना रहेको बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७