गण्डकीमा मुख्यमन्त्रीको दावी पेस गर्न २४ घण्टाको समय

विपक्षी गठबन्धनका बहुमत सदस्य प्रदेश प्रमुखकोमा जाँदै


२८ जेष्ठ २०७८, शुक्रबार
a

पोखरा, २८ जेठ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनका लागि आह्वान गरेकी छन । संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आह्वान गरेकी हुन् ।
गण्डकीका मुख्यमत्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि आह्वान भएको हो ।

वैकल्पिक सरकार गठनका लागि उनले दलहरुलाई २४ घण्टाको समय दिएकी छन् । प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बास्तोलाका अनुसार प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समय सीमा छ ।
जेठ २७ गते मुख्यमन्त्रीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । उक्त प्रस्तावको पक्षमा २७ मात्र मत परेका कारण गुरुङले आफ्नो सरकार जोगाउन सकेनन् । संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रक्रिया उपधारा ५ मा पुगेको हो ।

विपक्षी गठबन्धनका बहुमत सदस्य प्रदेश प्रमुखकोमा जाँदै
नयाँ सरकार गठनको दाबीसहित गण्डकी प्रदेशमा बहुमत सदस्य प्रदेश प्रमुखकोमा सशरीर उपस्थित हुने भएका छन् । अहिले केहीबेरपछि उनीहरु प्रदेश प्रमुखको कार्यालयमा जाने तयारी गरेका छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि २४ घण्टाको समय दिएर आह्वान गरेको केहीबेरपछि उनीहरु बहुमत सदस्यसहित उपस्थित हुन लागेका हुन् । विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् । कांग्रेस सांसद कुमार खड्काका अनुसार उनीहरु ६ बजे प्रदेश प्रमुखकोमा जाने तयारी छ ।

196143526 784992012387037 8589668799297983238 n

६० सदस्यिय गण्डकी प्रदेशसभामा सरकार बनाउनको लागि ३१ सांसद चाहिन्छन । उक्त बहुमत विपक्षीले आफूसँग रहेको दाबी गरेका छन् । विपक्षी कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी तर्फबाट मुख्यमन्त्रीका उम्मेदवार रहेका कृष्णचन्द्र नेपालीले बहुमतसहित आफूहरुको सरकार बन्ने दाबी गरे ।

यता आज (शुक्रबार) को प्रदेशसभा बैठकले जनमोर्चाका सांसद कृष्ण थापालाई फेरि पदमुक्त भएको सूचना दिएको छ । थापाले बिहिबारको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने पार्टीको ह्विप नमानी तटस्थ बसेका थिए । ह्वीप उल्लंघन गरेपछि उनको दल जनमोर्चाले पदमुक्त गरिदिन अनुरोध गरेबमोजिम सभामुख नेत्रनाथ अधिकारीले थापाको पद रिक्त रहेको जानकारी सदनलाई गराएका हुन् ।

थापाको पद गएपछि गण्डकीमा सांसद संख्या ५९ कायम भएको छ । ५९ सांसद कायम भएपछि बहुमतको लागि सरकार बनाउन ३० सांसद भए पुग्छ । विपक्षीसँग ३१ सांसदको हस्ताक्षर रहेको छ । यो प्रक्रिया अनुसार सरकार बने फेरि ३० दिनभित्र मुख्यमन्त्रीले उपधारा ६ बमोजिम विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिन नसके वा सरकार बन्न नसके उपधारा ७ बमोजिम प्रदेश मध्यावधि निर्वाचनतर्फ उन्मुख हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७