नयाँ शैक्षिक सत्र आजदेखि, ११ कक्षाको पढाइ भने भदौदेखि


१ असार २०७८, मंगलवार
book
सांकेतिक तस्वीर

काठमाडौं, १ असार । नयाँ शैक्षिक सत्र आजदेखि शुरु हुँदैछ । कोरोना भाइरस महामारीका कारण गएको वर्ष जस्तै यसपालि पनि ढिलो गरी नयाँ शैक्षिक सत्र शुरु भएको हो ।

कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र शुरु हुन लागेको हो । कोरोना सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि वैकल्पिक माध्यममार्फत पठनपाठनलाई अगाडि बढाउन लागिएको हो ।

आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइलाई अगाडि बढाउने शिक्षा मन्त्रालयले यसअघि नै भनिसकेको छ । आउँदो १५ गतेसम्म विद्यार्थीको अभिलेखीकरण राख्ने काम पूरा गर्नुपर्ने छ । विद्यार्थीको अभिलेखीकरणपछि वैकल्पिक सिकाइ प्रणालीबाट बालबालिकाको सिकाइलाई निरन्तरता दिइनेछ । बालबालिकाको हातमा पाठ्यपुस्तक पुर्याउन निषेधाज्ञामा पनि पुस्तक खोल्न पाइने निर्णय भइसकेको छ । आजदेखि बिहान ११ बजेसम्म पुस्तक पसल खुल्ने छन् ।

कक्षा ११ को पठनपाठन भने भदौदेखि शुरु हुँदैछ । विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्याङ्कन सकेर साउन दोस्रो हप्तासम्म अन्तिम नतिजा प्रकाशित गर्ने र भदौदेखि नयाँ कक्षा सुरु गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस्तै, यस शैक्षिक सत्रमा विद्यालय तहको चार वटा कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।

कक्षा २, ३, ६ र १२ मा नयाँ पाठ्यक्रम लागू गरिने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । नयाँ शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रम अनुसारको पुस्तक अध्ययन गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७