कांग्रेस महाधिवेशन : विमलेन्द्र, शशांक र प्रकाशमानबीच दोस्रो चरणको छलफल


११ असार २०७८, शुक्रबार
Bimalendra shashanka prakashman

काठमाडौंं, ११ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई १४ औं महाधिवेशनले तताएको छ । आगामी नेतृत्वका लागि शीर्ष नेताहरुबीच दौडधूप र छलफलहरु बाक्लिँदै गएका छन् । कांग्रेसको आगामी १४औं महाधिवेशनको तयारीका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह दोस्रो चरणको छलफलमा जुटेका छन् ।

महाधिवेशनको तयारीका लागि छलफल गर्न निधि र सिंह महामन्त्री डा. कोइराला निवास महाराजगन्ज पुगेका छन् । तीनै जना नेताबीच छलफल भइरहेको महामन्त्री डा. कोइरालाको सचिवालयले जानकारी दिएको छ । कांग्रेसको आगामी महाधिवेशनमा सभापति शेरबहादुर देउवाले पुनः सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनले आफू निकट सातै प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरिसकेका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफू निकट नेताहरूसँग आज छलफल गर्दैछन् । उनले आज दिउँसो आफू निकट केन्द्रीय सदस्यसँग छलफल गर्न लागेका छन् । उनले छलफलका लागि दिउँसो २ बजे केन्द्रीय सदस्यलाई बोलाएका छन् । पौडेल पक्षबाट पनि सभापतिका लागि आधा दर्जन आकांक्षी देखिएका छन् ।

निधि, कोइराला र सिंहले पनि यसअघि निधि निवास नयाँ बानेश्वरमा छलफल गरेका थिए । उनीहरू मिलेर महाधिवेशनमा जाने विषयमा सहमति गर्न खोजिरहेका छन् । निधि निवासमा भएको छलफलमा मिलेर जाने बताएका थिए । त्यसलाई थपमूर्त रूप दिन आज छलफलमा बसेको महामन्त्री कोइरालाको सचिवालयले जनाएको छ । तीनै जनाले सभापतिका लागि उम्मेदवारी दिने बताउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७