आफैले चलाउने टिपरले किचेको अवस्थामा चालकको शव फेला, परिवार भन्छ–सुनियोजित हत्या हो


१३ असार २०७८, आईतवार
bb411b264bcb5c74d3d7d835cfd71f81 w1000 h500 cp

जनकपुरधाम, १३ असार । धनुषामा आफैले चलाउने टिपर किचेको अवस्थामा चालकको शव भेटिएको छ । धनुषाको सबैला नगरपालिका–१० लवटोलिमा स १ ख ९०९ नम्बरको टिपरले किचेको अवस्थामा सोही टिपरका चालक २८ वर्षीय बुद्ध लामाको शव फेला परेको हो ।

लामा उदयपुरको कटारी नगरपालिका– २ का स्थायी बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ । आफैले चलाउने टिपरले किचिएर मृत्यु भएको अवस्थामा लामाको शव फेला परेको हो । आफन्तले उनको मृत्युलाई शंकास्पद भन्दै अनुसन्धानको माग गरेका छन् । उनको सुनियोजित हत्या भएको दावी आफन्तको छ ।

मृतक बुद्धका दाइ हरि लामाले सुनियोजित रुपमा टिपरले किचेर भाइको हत्या गरिएको दाबी गरे । टिपरको चक्काले मृतकको टाउको क्षतविक्षत भएको छ । इलाका प्रहरी कार्यालय सबैलाले पनि घटना शंकास्पद भएको भन्दै अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रहरी निरीक्षक राजेश सिग्देलले शव समेत नचिनिने अवस्थामा फेला परेकाले अहिले केहि भन्न नसकिने बताएका छन् ।

‘मृतकको अनुहार देखिएको छैन । घटना अनुसन्धानकै क्रममा छ । अहिले नै यही भएको हो भन्न सकिन्न,’ प्रहरी निरीक्षक सिग्देलले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं । केही समयपछि घटना विवरण सार्वजनिक गर्नेछौं ।’

प्रहरीले शनिबार साँझ ६ बजे घटना भएको बताए पनि मृतकका आफन्तले भने शनिबार दिउँसो साढे ३ बजेतिरै घटना भएको दाबी गरेका छन् । चालकको शव फेला परेको ठाउँमा टिपर स्टार्टकै अवस्थामा थियो । प्रहरी पुगेर टिपरको स्टार्ट बन्द गरेको मृतक परिवारले जनाएका छन् ।
लामाको हत्या भएको भन्दै मृतक परिवारले शव उठाउन मानेका छैनन् ।

‘घटनास्थलमा टिपर फँसेको देखिँदैन । टिपर ४-५ फिट ब्याक गरेर पछाडिबाट किचेको जस्तो देखिन्छ । यो सुनियोजित हत्या नै हो,’ मृतकका दाइ हरिले भने । घटनाको सुक्ष्म अनुसन्धान नभएसम्म शव उठाउन नदिने परिवारजनको अडान छ । उक्त टिपर सडक निर्माणमा प्रयोग हुँदै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७