यमनको मरिब भिडन्तमा कम्तीमा १११ जना यमनीको मृत्यु


१३ असार २०७८, आईतवार
yeman war1624787086

काठमाडौं, १३ असार । यमनको विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच मरिबमा भएका भिडन्तहरुमा परेर तीन दिनको अवधिमा कम्तीमा १११ जना यमनीको ज्यान गएको छ ।

यमनका हुथी विद्रोहीले यमनको मरिबमा आक्रामक कारबाही सुरु गरेपछि भएका यी भिडन्तमा दुवै तर्फबाट जनधनको क्षति भएको सरकारी स्रोतले जनाएको छ । हुथी विद्रोहीहरु मरिबलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन् । यो क्षेत्र उत्तरी यमनको सरकारी नियन्त्रणमा रहेको एक मात्र स्थान हो । बिहीबार र आइतबार भएका भीषण लडाइँमा सरकार समर्थित २९ जना सैनिकको ज्यान गएको छ भने कम्तीमा ८२ जना विद्रोही मारिएको सरकारी सूत्रले जनाएको छ । तर, विद्रोही हुथी समूहले आफ्ना लडाकूको ज्यान गएको बारेमा केही बताएको छैन ।

यमनका सरकारी अधिकारीको भनाइमा बिहीबारदेखि हुथी विद्रोहीले उत्तर, दक्षिण र पश्चिमतर्फबाट मरिबमा भीषण आक्रमण गरिरहेका छन् । तर, लडाकूहरु मरिबको भित्री तहमा प्रवेश गर्न पाएका छैनन् । मरिबलाई विद्रोहीको कब्जामा पुग्न नदिन सरकार समर्थित सेनालाई साउदी अग्रसरताको गठबन्धनले हवाई सहयोग गरिरहेको छ ।

एक जना सरकारी सैन्य अधिकारीले मरिब क्षेत्रमा दुवै तर्फबाट भीषण हमला भइरहेको र साउदी गठबन्धनका सेनाले हवाई आक्रमण गरिरहेको जानकारी दिए । यमनको मरिब क्षेत्र तेलका लागि धनी छ । उक्त क्षेत्रलाई नियन्त्रणमा लिन सके हुथी विद्रोहीको क्षमता बढ्ने र शान्तिवार्तामा आफ्नो हात माथि पर्नेछ । तर, यो क्षेत्रमा जारी भिडन्तका कारण मानवीय संकट उत्पन्न हुन सक्ने स्थानीय मानवीय संघ–संस्थाहरुले जनाएका छन् ।

यमनका अन्य क्षेत्रमा जारी भिडन्तबाट बच्न धेरै मानिस मरिबमा बस्दै आएका छन् । यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । यमनको मुख्य विद्रोही समूह हुथीले राजधानी सानालाई आफ्नो नियन्त्रणमा राखेका छ ।

संयुक्त राष्ट्रसंघ र अमेरिकाले युद्ध अन्त्य गर्न प्रयास गरिरहे पनि हुथी विद्रोहीहरुले कुनै किसिमको युद्धविराम वा मध्यस्थता हुनुअघि सानास्थित विमानस्थल खुलाउन माग गरिरहेका छन् । यो विमानस्थल सन् २०१६ देखि साउदी प्रतिबन्धका कारण बन्द छ ।

मरिबमा रक्तपातपूर्ण स्थिति देखिए पनि हुथी विद्रोहीहरुले साउदी अरेबियाका कैयौँ स्थानमा ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण जारी राखेका छन् । यसै महिना यमनका लागि राष्ट्रसंघीय विशेषदूत मार्टिन ग्रिफिथले युद्ध अन्त्य गराउन तीन वर्षदेखि आफूले गरेको प्रयास त्यतिकै खेर गएको बताएका छन् ।

यमन गृहयुद्धमा दशौँ हजारको मृत्यु भइसकेको छ भने यमनका ८० प्रतिशतभन्दा बढी मानिस विदेशी सहायतामा निर्भर हुनुपरेको छ । राष्ट्रसंघले यस युद्धलाई सर्वाधिक खराब मानवीय संकटको संज्ञा दिएको छ । युद्धका कारण दशौं लाख व्यक्ति विस्थापित भएका छन् । रासस / एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७