नेदरल्यान्ड्सलाई हराउँदै चेक युरोकपको क्वाटरफाइनलमा


१३ असार २०७८, आईतवार
Czech Republic 1024x561 1

काठमाडौं, १३ असार (एजेन्सी) । नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । उपाधि दाबेदार मानिएको डच टोलीलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

नेदरल्यान्ड्स दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सिमित भएको थियो । पहिलो हाफमा गोलको थुप्रै अवसर सिर्जना गरेको नेदरल्यान्ड्सले गोल गर्न सकेनन् ।

५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टको साथ गुमाए । टोलीका मुख्य डिफेन्डर म्याथिस डी लिग्टले हातले बल रोकेपछि भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै रेफ्रीले रातो कार्ड दिएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र लडेपछि सिकलाई बलसम्म पुग्न नदिने प्रयास गर्दा हातले बल रोकेका थिए ।

डच टोली १० खेलाडीमा समेटिएपछि चेकले दबाब सिर्जना गर्दै दुई गोल गर्न सफल भयो । अब चेकले सेमिफाइनल प्रवेशका निम्ति डेनमार्कसँग खेल्नेछ ।

खेलको ६५ औं मिनेटमा डम्फ्राइजले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ब्लक गर्दै खेल गोलरहित राखे । कादेर्बेकले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई उनले पोस्टतर्फ जानबाट रोकेका थिए ।

६८ औं मिनेटमा चेकले टोमस होलेसको गोलमा अग्रता लियो । कर्नरमा टोमस कालासले दिएको हेडर पासलाई फार पोस्टमा अनमार्क रहेका होलेसले हेडरमार्फत सहजै गोल गर्दै अग्रता दिलाएका थिए ।

८० औं मिनेटमा प्याट्रिक सिकले चेकको अग्रता दोब्बर पारे । होलेसले पेनाल्टी क्षेत्रको बायाँ भागबाट दिएको पासलाई सिकले पहिलो टचमा नै गोल गर्दै चेकलाई क्वाटरफाइनल नजिक पुर्याएका थिए । उनको जारी प्रतियोगितामा यो व्यक्तिगत चौथो गोल पनि थियो ।

चेकले अब क्वाटरफाइनलमा डेनमार्कको सामना गर्नेछ । डेनमार्कले शनिबार वेल्समाथि ४–० को जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो । आज हुने राउन्ड अफ १६ को खेलमा साविक विजेता पोर्चुगल र बेल्जियम खेल्दैछन् ।

  • Czech Dutch 1024x587 1
  • Czech Netherlands 1024x636 1
  • Tomas Holes Czech 1024x556 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७