महान्यायाधिवक्तालाई प्रधानन्यायाधीशको प्रश्न : सांसदको हस्ताक्षर दुरुपयोग भयो भन्ने तपाईंले हो र ?


१४ असार २०७८, सोमबार
Cholendra Shamsher

काठमाडौं, १४ असार । महान्यायाधिवक्ता रमेश बडालले संवैधानिक इजलासमा कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमालेका सांसदहरूको हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमाथि विपक्षीका तर्फबाट बहस गर्दै बडालले गणेश पहाडी र सरला यादवसहितका सांसदहरूको हस्ताक्षर दुरुपयोग भएको बताए । उनले हस्ताक्षर दुरुपयोग गरिएका कारण लिखत सम्बन्धी कसुरमा कारबाही अगाडि बढाउन इजलासले आदेश गर्नुपर्ने माग समेत गरेका छन् ।

बडालले रिट निवेदकलाई कारबाही गर्न आग्रह गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले उनलाई सोधे, ‘जुन प्रयोजनको लागि सही गरेको हो, त्यो दुरुपयोग भयो भन्ने अधिकार उहाँहरुकै होइन ?’

प्रधानन्यायाधीशको प्रश्नमा बडालले जवाफ दिए, ‘हामी जग्गा किचलो मुद्दामा बहस गर्दै छैनौं, प्रधानमन्त्री नियुक्तिबारे बहस भइरहेको हुनाले लिखतबारे इजलासले हेर्नुपर्छ ।’ न्यायाधीश ईश्वर खतिवडाले विघटनको मुद्दा दर्ता भइसकेको अवस्थामा हिजो लिखतको कसुरमा अनुसन्धान र कारबाही भयो वा भएन भनेर अदालतले भन्न नमिल्ने बताए । उनले भने, ‘लिखत कीर्तेमा पहिले कारबाही गर्नुपथ्र्यो कि पर्दैनथ्यो, त्यो त हामीले हेर्ने होइन नि ।’

इजलासले आदेश गरेमा हस्ताक्षर कीर्ते गरेको कसुरमा कानुनी कारबाही गर्न सरकार तयार रहेको बडालले बताए । बडालले इजलासमा प्रश्न गरे, ‘कीर्ते कागज बनाउने पीएम हामीले खोजेको हो र ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७