पाँच प्रदेशमा भारी वर्षा, भोलिदेखि झन ठूलो पानी पर्ने


१५ असार २०७८, मंगलवार
Rain

काठमाडौं, १५ असार । नेपालमा केहि दिन अलि मत्थर भएको वर्षा फेरि सक्रिय हुने भएको छ । बुधबार (भोलि) बाट मनसुन थप सक्रिय हुने भएकाले पूर्व सावधानका उपाय अपनाउन मौसमविदले आग्रह गरेका छन् । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहने हुनाले मनसुन सक्रिय हुने मौसमविदले बताएका छन् ।

मनसुन थप सक्रिय हुँदा प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

विभागले आज एक विवशेष बुलेटिन जारी गर्दै मनसुन थप सक्रिय हुँदा प्रदेश–१, प्रदेश–२, वागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसअघि मनसुन शुरु हुने बित्तिकै सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा लेदोसहित आएको बाढीले ठूलो परिमाणमा जनधनको क्षति गरेको थियो । ठूलो परिमाणमा जनधनको क्षति पुग्दा सयौं परिवार विस्थापित हुनुका साथै घरबारबिहीन भएका छन् ।

यसैबीच, आज बिहाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी र वागमती प्रदेशका केही स्थानमा पानी परिरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७