डुम्रे–वेशीशहर सडक खण्ड अवरुद्ध, पहिरोले लागेर दुई बटुवा घाइते


१८ असार २०७८, शुक्रबार
pahiro

तनहुँ, १८ असार । दमौली–पहिरोका कारण तनहुँको डुम्रे–बेंसीशहर सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको पहिरोका कारण उक्त सडक खण्ड अवरुद्ध भएको हो ।

तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा आएको पहिरोका कारण उक्त सडकखण्ड बिहीबारदेखि अवरुद्ध छ । बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

‘हिजो दिउँसो पहिरो हटाएर सडक सञ्चालन गराइए पनि फेरि अवरोध भएको छ’, उनले भने, ‘ठूलो पहिरो खसेकाले हटाउन चार–पाँच घण्टाभन्दा बढी समय लाग्ने देखिन्छ ।’ पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा पनि बिहीबार ठूलो पहिरो खसेको थियो । उक्त ठाउँमा पहिरो हटाएर बिहीबारदेखि नै सडक एकतर्फी सञ्चालनमा आएको छ । ‘बीचमा ठूलो ढुङ्गा रहेकाले दुईतर्फी सञ्चालन हुन सकेको छैन’, प्रनाउ तिमिल्सिनाले भने ।

पहिरोले लागेर दुई घाइते
यसैबीच तनहुँको भानु नगरपालिका–८ मा पहिरो खसेर दुई जना घाइते भएका छन् । पहिरोले सडक अवरुद्ध भएपछि पैदल हिंडेर पहिरो पार गर्दै गरेका दुई युवा पहिरोले लागेर घाइते भएका हुन् ।

दुवै जना बेंसीशहर निवासी हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । दुवै घाइतेलाई उपचारका लागि बेंसीशहर लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७