हराउँदैछन् मुस्ताङ चिनाउने प्राचिन माटोका घरहरु


२१ असार २०७८, सोमबार
mustangg

मुस्ताङ, २१ असार । कुनै जमाना थियो, हिमाली जिल्ला मुस्ताङमा वर्षा एकदमै कम हुन्थ्यो । कालिगण्डकी तटीय क्षेत्रमा मान्छे नै उडाउने उन्मादको हावा चल्छ, तर हावा बढी चले पनि यहाँ कहिलेकाहीं मात्र क्षणिक वर्षा हुन्थ्यो ।

तर पछिल्लो समय मुस्ताङीले युग फेरिएको फरक अनुभुति गर्न थालेका छन् । पानी नै नपर्ने मुस्ताङमा लामो समयसम्म भारी वर्षा हुन थालेको छ । पछिल्लो एक दशकयता हिमाली क्षेत्रको हावापानी, रहनसहन, जीवनशैलीमा आएको फेरबदलले मुस्ताङ जिल्लाको धार्मिक र सांस्कृतिक सभ्यता समेत रुपान्तरित हुँदै जान थालेको छ ।

अन्धाधुन्द पूर्वाधार विकासले वातावरण क्षेत्रमा पारेको दुष्प्रभावका कारण जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रका बासिन्दाले भोग्न बाध्य परेका छन् । विश्वमा बढ्दै गइरहेको कार्वन उत्सर्जन तथा हरितगृह ग्याँसको प्रभावले मौसम प्रतिकुल बन्दै जान थालेको स्थानीय बताउँछन् । जलवायु परिवर्तनले हिमाली क्षेत्रको जैविक विविधता लोप हुने खतरा समेत उक्तिकै बढेको उनीहरुको भनाइ छ ।

सयौं वर्षअघि मुस्ताङका अधिकांश घर-टहरा तथा पशुपालन गर्ने खोरका पर्खालहरु माटोले नै निर्माण गरिएका छन् । यस्ता घरहरु वर्षौसम्म टिकाउ हुन्थे । ढुङ्गा माटोले प्राचिन शैलीमा एकआपसमा जोडेर निर्माण गरिएका माटोका घरहरुमा कंक्रिटको प्रयोग हुने थिएन । माटोले निर्मित यस्ता घरहरुको छतमाथि ३ ईञ्चसम्म सख्खर माटो बिच्छ्याइन्थ्यो ।

सख्खर माटोको छानो भएका यस्ता घरहरुमा वर्षौसम्म पानी चुहिने थिएन । यस्ता घरहरु निर्माण गर्दा लागत समेत कम हुने र घाम र पानीलाई सन्तुलित राख्न सक्ने भएकाले माटोको घरमा बस्दा न्यानो हुन्छ । पहाडको फेदमा पाइने सख्खर माटो छतमाथि बिछ्याउँदा कंक्रिट ढलान भन्दा बलियो हुने स्थानीयको अनुभव छ ।

पछिल्लो समय प्राचिन शैलीमा निर्माण गरिएका यस्ता घर बजारको प्रभावसँगै मौसममा आएको फेरबदलले संकटमा पर्न थालेको स्थानीयको भनाइ छ । हिमाली जिल्लाको मौलिक कला संस्कृतिसँग जोडिएका यस्ता घरहरुमा पछिल्लो समय अविरल वर्षाले क्षति पु¥याउन थालेको छ । माटोले बनेका यस्ता घरहरुमा छतमाथि लटरम्म दाउरा पाँज्ने चलनले यहाँको सांस्कृतिक सभ्यता उजागर गर्थ्यो । यहाँको मौलिकता अवलोकन गर्न पाउँदा मुस्ताङ आउने पर्यटक मोहित हुन्थे । मुस्ताङमा माटोले बनेका यस्ता घरहरु अझै जिवितै छन् तर यस्ता घरहरुको संरक्षणमा वातावरणको प्रभाव चुनौती बन्न थालेको छ ।

गत वर्ष थासाङ गाउँपालिका-२ कोवाङ नाउरिकोटमा अविरल वर्षाका कारण माटोले बनेका केही घर भत्किन पुगे । नाउरिकोटमा घर भत्किँदा एक युवाले ज्यानै गुमाए । यस वर्ष पनि एक सातासम्म परेको अविरल वर्षाले मुस्ताङका विभिन्न स्थानमा माटोले बनेका घरहरु भत्किन पुगेका छन् । अविरल वर्षाले मुस्ताङको घरपझोङ-२ मार्फा गाउँको एक दर्जन दलित बस्ती माटोका घरहरु भत्किदा विस्थापित भए । अविरल वर्षाले घर भत्किँदा उनीहरुलाई मार्फा समाज घरमा स्थान्तरण गरिएको छ ।

यस्तै घरपझोङ—५ ढुम्बामा माटोले बनेका ७ घरहरु पनि अविरल वर्षा थेग्न नसक्दा धमाधम भत्किएर क्षति भयो । सदरमुकाम जोमसोममा पनि माटोले बनेका कतिपय स्थानीयका घर—टहरा र पशुपालन गर्ने खोर/पर्खाल भत्किन पुगे । बढ्दो प्राकृतिक दोहनका कारण मुस्ताङका प्राचिन माटोले बनेका घरहरु जोखिममा पर्न थालेको थासाङ-२ का स्थानीय सोजन हिराचनले बताए ।

‘पछिल्लो समय हिमाली क्षेत्रमा मौसम प्रतिकुल बन्न थालेको छ । यहाँ पानी उस्तो पर्दैनथ्यो, जलवायु परिवर्तनको असरले असमान प्रकारको हिमपात र वर्षा हुन थालेको छ । यो यहाँका लागि चिन्ताकै विषय हो’, उनले बताए । सदियौंदेखि माटोले बनेका घरहरु जिवन्त इतिहास रहेको उनको भनाइ छ ।

मुस्ताङका सरकारी कार्यालय समेत माटोले बनेका छन् । तर माटोले बनेका यस्ता कार्यालयहरुमा वर्षाले पानी चुहिन थालेपछि कार्य सम्पादनमा समेत असहज हुन थालेको बताइएको छ । केही वर्षयता मुस्ताङका घरहरुमा पानी चुहिने र भत्किने क्रम बढ्न थालेको छ । अव मुस्ताङको सांस्कृतिक धरोहरको रुपमा रहेका माटोका पुराना घरहरु जोगाउन सरकारले ठोस कार्यक्रम ल्याउनु पर्ने उनले सुझाए ।

विदेशी पर्यटकका लागि आर्कषक पहिचान बन्दैआएको यस प्रकारका माटोले बनेका घरहरु वातावरण प्रभावसँगै बजारको चपेटामा पर्न थालेको लोघेकर दामोदरकुण्ड गापाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए । पछिल्लो समय मुस्ताङका पुराना संरचना मासिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष विष्ट यस्ता संरचना पुस्तौँसम्म जिवन्त राख्नुपर्ने आवश्यकता रहेको बताउँछन् ।

उनले भने, ‘धमाधम पुराना घरहरु मास्दै कंक्रिट घरहरु बन्ने होडबाजी चलेको छ । आधुनिक र वातावरणले संस्कृति र मौलिकता संकटमा पर्न थाल्यो ।’ उनले जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रको जैविक विविधिता, कृषि, पर्यटन र संस्कृतिमाथि नकरात्मक प्रभाव पर्दै आएको दुखेसो समेत गरे । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७