एमाले स्थायी कमिटी वैठकअघि ओली–नेपाल पक्षीय दोस्रो तहका नेताहरु छलफलमा


१६ श्रावण २०७८, शनिबार
CPNUML working Team

काठमाडौं, १६ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्नुअघि विघटित कार्यदलका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षीय नेताहरुबीच सिंहदरबारमा छलफल भइरहेको छ ।

तीन बुँदे एजेण्डासहित एमाले स्थायी कमिटी बैठक बस्नुअघि दुवै पक्षका भनिएका दोस्रो तहका नेताहरु आपसी संवादमा जुटेका हुन् ।
यसअघि गत बुधबार एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्रको विवाद शनिबारसम्म वारपार गर्न भनेका थिए । तर दोस्रो तहका नेताहरुले छलफल गरे पनि ओली–नेपाल संवाद गराउन नसक्दा एमालेभित्रको विवाद विभाजनको डिलमा पुगेको छ ।

आजको छलफलमा विघटित कार्यदलका सदस्यहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली र गोकर्ण विष्टसहित संवादमा जुटेका हुन् । विघटित कार्यदलका दुवै पक्षका नेताहरुले ओली र नेपाललाई संवादमा ल्याउन गरिरहेको कोशिस असफल भइरहेको छ ।

पछिल्लो समय ओलीले नेपालसँग संवाद अघि बढाउन चाहेका छन् । तर नेता नेपालले आफू पक्षीय कार्यदलकै सदस्यहरूलाई समेत भेट दिन मानिरहेका छैनन् । उनीमाथि तेस्रो पुस्ताका नेताहरुबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा जानै पर्ने दबाब बढाइरहेका छन् ।
ओली पक्षीय नेताहरु नेम्वाङ र पौडेलले नेता नेपालसँग संवाद गरेका थिए ।

तर उनले आफू, झलनाथ खनाल या अष्टलक्ष्मी शाक्यमध्ये एकजनालाई दोस्रो अध्यक्ष बनाउनुपर्ने अडान राखेका छन् । नवौं महाधिवेशनबाट पारित विधान अनुसार एमालेमा एक जना मात्रै अध्यक्ष हुने प्रावधान छ । तर नेता नेपालले सहमति गरे पनि ओलीले फेरि एकपक्षीय निर्णय गर्न सक्ने भन्दै पार्टीमा दुवै जनाको हस्ताक्षर चल्नेसहित बराबरी हैसियतको अध्यक्ष पद भएमा मात्रै एकतामा जान सक्ने अडान राखिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७