निधि भारतबाट फर्के लगतै चाक्सिबारीमा प्रकाशमान र शशांकसँग भेटवार्ता


१६ श्रावण २०७८, शनिबार
Prakashman bimalendra and shashanka

काठमाडौं, १६ साउन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री डा. प्रकाशमान सिंहबीच आज (शनिबार) भेटवार्ता भएको छ । उपसभापति निधि भारतबाट फर्के लगतै नेता सिंहको निवास चाक्सिबारीमा तीन नेताबीच भेटवार्ता भएको हो ।

एक महिनाअघि एक अर्काको निवासमा पुगेर तीन पटकसम्म भेट गरेका यी नेताहरुले महाधिवेशन नजिकिँदै जाँदा फेरि भेटघाट शुरु गरेका हुन् । उनीहरुबीच के कुराकानी भयो भन्ने विषय सार्वजनिक गरिएको छैन । नेपाली कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा यी तीन नेताको भेटलाई कांग्रेसमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

उपसभापति निधि साउन १३ गते मात्रै भारतको नयाँ दिल्ली गएका थिए । उनी काठमाडौंबाट विराटनगर हुँदै सिलिगुडी–कलकत्ता भएर दिल्ली पुगेका थिए । निधि शुक्रबार काठमाडौं फर्किएका हुन् । उनको सचिवालयले उपसभापति निधि पारिवारिक कामले दिल्ली गएका जनाएको छ ।

निधि, कोइराला र सिंहबीच महाधिवेशन केन्द्रित यो चौथो छलफल हो । यसअघि पनि चाक्सीबारीमै उनीहरुबीच पटक पटक छलफल भएको थियो । आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका नेताहरुबीच गत असार पहिलो साता उपसभापति निधिको वैवाहिक वर्षगाँठको अवसर पारेर छलफल सुरु भएको थियो । संस्थापन पक्षकै निधिले कांग्रेसको महाधिवेशनमा सभापति पदमा लड्ने घोषणा गरिसकेका छन् । त्यस्तै महामन्त्री कोइराला र गणेशमान पुत्र प्रकाशमान पनि सभापतिका दाबेदार हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७