सुजिता ठाकुर हत्या आरोपमा उनकै बुबा पनि पक्राउ


१८ श्रावण २०७८, सोमबार
sujita WtoBIVmrAV

महोत्तरी, १८ साउन । महोत्तरीकी सुजिता ठाकुरको हत्या आरोपमा उनकै बुबा कामेश्वर पाण्डेयसहित थप तीन जना पक्राउ परेका छन् ।
सुजिताको हत्यामा संलग्नता देखिएपछि बाबु पाण्डेयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले जानकारी दिए ।

प्रहरीले आज (सोमबार) जिल्ला प्रहरी कार्यालय जलेश्वरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका मृतक सुजिताका बुबा पाण्डेयसहित सुजिताकी नन्द ३५ वर्षीया अञ्जु ठाकुर र स्थानीयवासी प्रमोद मण्डललाई सार्वजनिक गरेको हो । एसपी आचार्यका अनुसार बाबु पाण्डेयकै संलग्नतामा देवर रूपेश ठाकुरले सुजिताको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

‘बाबु कामेश्वर र देवर रूपेशकै मिलोमतोमा सुजिताको हत्या भएको खुलेको छ’, आचार्यले भने, ‘इज्जत प्रतिष्ठाको विषय बनाउँदै उनीहरूले हत्या गरेको पाइएको छ ।’ पटक–पटक बाहिर गइरहने सुजिताको बानीलाई उनीहरूले प्रतिष्ठाको विषय बनाएको उनले बताए । ‘घरबाट बाहिर गइरहने सुजिताको बानी उनीहरूलाई मन परेको थिएन’, एसपी आचार्यले भने, ‘यसका साथै आर्थिक लेनदेनको कुरा पनि देखिएको छ ।’

देवर रूपेशले सुजिताको हत्या गरिसकेपछि पाण्डेयले घटना लुकाउन बार्गेनिङ गरेको पनि खुलेको आचार्यले जानकारी दिएका छन् । यसैगरी सुजिताका नन्द अञ्जु र प्रमोद भन्ने व्यक्तिले शव लुकाउन मद्दत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता हत्या प्रकरणमा प्रहरीले अहिलेसम्म सात जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७