‘डाँडापारी’ मा बिरामी परे हेलिकप्टर बाहेक छैन विकल्प


२५ श्रावण २०७८, सोमबार
helicopter

काभ्रेपलाञ्चोक, २५ साउन । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–४ डाँडागाउँका ७० वर्षीया सुन्तामाया जिम्वालाई गत हप्ता उपचारका लागि हेलिकप्टरमार्फत धुलिखेल अस्पताल ल्याइयो । टाउको दुख्ने र हात झम्झमाउने रोगबाट पीडित उनलाई गाउँको कच्ची सडकबाट एम्बुलेन्समा ल्याउन सम्भव नहुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता बनेको हो ।

घरमा औषधि ल्याएर खाँदा शरीरलाई आराम नमिले पनि उनका आफन्तले ७० हजार भाडा तिरेर धुलिखेल ल्याउनुपरेको थियो । सुन्तामायाको हाल धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । गत साल साउनमै सोही वडास्थित जगथलीको एक गर्भवती महिलाको हेलिकप्टरमार्फत नै उद्धार गरिएको थियो ।

केही दिनदेखि ब्यथाले च्यापेकी उनलाई अस्पताल लैजानुको विकल्प नभएपछि हेलिकप्टर मगाइएको थियो । ‘गम्भीर प्रकृतिका बिरामी पर्दा वर्षायाममा हेलिकप्टरको विकल्प छैन’, गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले भने ।

वर्षायाममा ग्रामीण भेगमा भएका सडक भत्किने र पहिरोले अवरुद्ध पर्दा जिल्लाको दक्षिणी क्षेत्र महाभारत पर्वत श्रृङ्खला पारीका बासिन्दाले बिरामी पर्दा हेलिकप्टरको भरपर्नु पर्ने हुन्छ । हेलिकप्टरको भाडा तिर्न नसक्नेले उपचारबाट बञ्चित हुनुपर्ने बाध्यता छ । डाँडापारीस्थित टाढाको विकट क्षेत्रमा महँगो भए पनि सडक अवरुद्ध हुँदा हेलिकप्टर निकै सजिलो साधन मानिन्छ ।

गत साल साउनमै खानीखोला गाउँपालिका–६ को १७ वर्षीया किशोरीलाई उपचारार्थ अस्पताल लैजान हेलिकप्टर गाउँ पुर्‍याइयो । हेलिकप्टर रित्तै फर्किनु पर्‍यो । विडम्बना उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममै मृत्यु भयो । तीन दिनदेखि झाडापखालाले ग्रस्त रञ्जिता थोकरलाई थप उपचारका लागि काठमाडौं लैजान परिवार र जनप्रतिनिधिले सोही बिहानै निर्णय गरे तर, उनलाई बचाउन सकिएन । त्यतिबेला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी हेलिकप्टरको व्यवस्थापनमा सहयोग गरिदिन अपिल गरेका थिए ।

मनसुन शुरु भएसँगै बाढीपहिराले डाँडापारीका कच्ची सडक अवरुद्ध हुँदा गाउँपालिकामार्फत हेलिकप्टर ‘चार्टर’ गर्नुपर्ने खुलालले बताए । ‘पहिले पनि समयमै उपचार नपाउँदा केही गर्भवती तथा सुत्केरी महिला र बिरामीको गाउँमै मृत्यु हुन्थ्यो, अहिले स्थानीय तहको सहयोगमा केही सहजता भएको छ’, उनले भने ।

गत वर्ष प्यारालाइसिस् रोगबाट ग्रसित महाभारत गाउँपालिका–७ का ७५ वर्षीय वृद्ध लालबहादुर लोलाई पनि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो । त्यतिबेला एक हप्ताका बीचमा डाँडापारि क्षेत्रबाट तीन बिरामीका लागि होलिकप्टर प्रयोग गर्नुप¥यो भने साउन पहिलो साता महाभारत गाउँपालिका–२ की २१ वर्षीया गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

भौगोलिक विकटता तथा जारी अविरल वर्षाका कारण कच्ची सडक अवरुद्ध हुँदा काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारतमा हवाई उद्धार गर्नुपर्ने बाध्यता छ । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले वर्षायाममा डाँडापारी क्षेत्रमा बिरामीको उद्धारमा निकै कठिनाइ हुने गरेको दुःखेसो गर्छन् । ‘वर्षायाममा गम्भीर बिरामी-गर्भवतीलाई हेलिकप्टरबाट उद्धार गर्नुको विकल्प छैन’, उनले भने ।

हेलिकप्टरबाट बिरामी-गर्भवतीको उपचाररार्थ उद्धार गरिए पनि काठमाडौं लैजानुपर्ने अर्को बाध्यता रहेको छ । ‘हेलिकप्टर काठमाडौंबाट मगाइएपछि जिल्ला सदरमुकामका अस्पताल लैजान हेलिकप्टर अवतरण गर्न अर्को व्यवस्थापन गर्नुपर्ने हुँदा काठमाडौं लैजान सजिलो पर्छ’, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने । सरकारले विकट क्षेत्रका गम्भीर बिरामी तथा गर्भवती महिलाको उद्धार गर्नका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि–२०७५ जारी गरेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७