एसिडपीडित आरतीको आक्रोश : लेनदेन गरी फैसला सुनाइयो


२६ श्रावण २०७८, मंगलवार
Arati Sah1628512235

जनकपुरधाम, २६ साउन । जनकपुरधाम उपमहानगरपालिकाकी एसिडपीडित आरती साहले मंगलबार जिल्ला अदालतमा पुगेर आक्रोश पोखेकी छन् । सोमबार जिल्ला अदालत धनुषाले गरेको फैसलामा आर्थिक चलखेल भएको आरतीले आरोप लगाएकी छिन् ।

न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले एसिड उपलब्ध गराएका व्यवसायी नागेन्द्र साहलाई सफाइ दिएको छ । एसिड छ्याप्ने उनका श्रीमान् सबैला नगरपालकिा–६ का २६ वर्षीय सञ्जीवलाई भने दोषी ठहर गरेको छ ।

एसिड प्रहार गरी अंगभंग र कुरूप बनाएको मुद्दामा एसिड छ्याप्नेलाई दोषी र बेच्नेलाई सफाइ दिन नमिल्ने आरतीको जिकिर छ । ‘ममाथि एसिड आक्रमण गर्ने र एसिड उपलब्ध गराउने उस्ता उस्तै हुन् । उपलब्ध गराउनेलाई छ्याप्ने भन्दा बढी कारबाही हुनुपर्छ’, उनले भनिन्, ‘अपराधीको मतियार बनेका व्यवसायीलाई किन सफाइ दिइयो ? ऊसँग एसिड बेच्ने लाइसेन्स पनि छैन । घुस लिएर न्याय किनबेच गर्न मिल्छ ?’

आरतीले अदालत पुगेर आक्रोश पोखेपछि धनुषा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले सम्झाउन–बुझाउनको लागि नियन्त्रणमा लिएको बताए ।

‘अदालतमा पुगेर श्रीमान् (न्यायाधीश) लाई गाली–बेइज्जती गरिरहेका थिए । हो–हल्ला गरिरहेका थिए’ डीएसपी बस्नेतले भने, ‘आरती र उनको भाइलाई नियन्त्रणमा लिएर कानुनी बाटोबाट संघर्ष गर्न परामर्श दिएका छौं ।’ जनकपुरधाम उपमहानगर–७ स्थित डेरामा आरती र छोरी रियामाथि सञ्जीवले ०७७ कात्तिक २७ मा एसिड छ्यापेका थिए । घटना लगत्तै सञ्जीवलाई प्रहरीले पक्राउ गरेको थियो ।

सञ्जीवले निखिल स्टोरबाट एसिड किनेको बयान दिएपछि प्रहरीले स्टोर सञ्चालक नागेन्द्रलाई पनि पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले ०७७ मंसिर २४ गते एसिड प्रहार गर्ने सञ्जीव र एसिड बेच्ने नागेन्द्रलाई समेत १५ वर्ष ६ महिना कैद र कानुनबमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने माग–दाबी गर्दै जिल्ला अदातलतमा मुद्दा दर्ता गराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७