लुम्बिनीमा सात सदस्यीय मन्त्रिमण्डल, जसपाबाट तीनै जना मन्त्री


२८ श्रावण २०७८, बिहीबार
kul prasad kc

बुटवल, २८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज (बिहीबार) सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् । प्रदेशको मुख्यमन्त्रीमा आजै नियुक्त मुख्यमन्त्री केसीले शुरुमा सात सदस्यीय मन्त्रिमण्डल बनाउन लागेका हुन् ।

माओवादी, कांग्रेस, जसपा र स्वतन्त्र सांसदहरुलाई समेट्दै मुख्यमन्त्री केसीले सात सदस्यीय मन्त्रिमण्डल गठन गर्न लागेका हुन् । मुख्यमन्त्रीमन्त्रीसहित माओवादीबाट दुई, कांग्रेसबाट एक, जसपाबाट तीन जना र स्वतन्त्र एक सांसदलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागिएको स्रोतले जानकारी दिएको छ ।

कांग्रेसबाट डिल्लीबहादुर चौधरी, माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जसपाबाट सुमन शर्मा रायमाझी, कुर्मती ढेंगा र सहसराम यादव मन्त्री बन्ने भएका छन् भने स्वतन्त्र (हृदयेश त्रिपाठी समूह) बाट अजय शाही मन्त्री बन्ने निश्चित भएको छ । चौधरी शहरी तथा ग्रामीण विकास र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् । अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन ।

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका ६ सांसदमध्ये शंकर पोखरेलको मन्त्रिपरिषदमा सहभागी भएको भन्दै पार्टीले निष्कासन गरेपछि अब तीन जना मात्र सांसद बाँकी छन् । सांसद रायमाझी पहिले पोखरेलको मन्त्रिपरिषदमा सहभागी भएपनि राजीनामा दिएर बाहिरिएकी थिइन् ।

स्वतन्त्र राजनीतिक समूहको नामबाट सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा विजयी भएका लुम्बिनी प्रदेशसभामा दुई सांसद छन् ।
यो समूहले यसअघि पोखरेल नेतृत्वको सरकारलाई साथ दिएको थियो र सांसद धर्मबहादुर लाल श्रीवास्तव सरकारमै सहभागी भएका थिए । अहिले सोही समूहका अर्का सांसद शाही केसी नेतृत्वको मन्त्रिपरिषदमा सहभागी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७