कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर, निधि मुम्बई जाँदै


३ भाद्र २०७८, बिहीबार
pardip

काठमाडौं, ३ भदौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । भारतको मुम्बईस्थित हिन्दुजामा उपचाररत नेता गिरीको स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको हो ।

उनी एक साता अगाडि स्वास्थ्योपचारका लागि मुम्बई गएका थिए । नेता गिरीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उपसभापति विमलेन्द्र निधि पनि मुम्बई जाँदै छन् । उपसभापति निधि बिहीबार गृह जिल्ला धनुषाको जनकपुरबाट मुम्बई जाने तयारीमा रहेको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

उनका अनुसार मुम्बईतर्फ जान उपसभापति निधि बिहीबार बिहान काठमाडौंबाट जनकपुर गएका हुन् । ‘विमल दाइ बिहान जनकपुर जानु भएको छ । त्यहाँबाट बसमा बिहारको दरभङ्गा जानुहुन्छ,’ दाहालले भने, ‘बेलुकाको उडानबाट मुम्बई पुग्नुहुन्छ । भोलि (शुक्रबार) मात्रै उहाँको भेट प्रदीप दाइसँग हुन्छ ।’

नेता गिरी उपचारका लागि मुम्बई जानुअघि पनि दुई नेताबीच भेट भएको थियो । गिरीको घाँटीमा समस्या देखिएको दाहालले जानकारी दिएका छन् । ‘प्रदीप दाइको घाँटीमा समस्या देखिएको छ । विभिन्न परीक्षण गराइएको छ, भोलि मात्रै रिपोर्ट आउने खबर आएको छ,’ उनले भने, ‘रिपोर्ट आएपछि स्वास्थ्य अवस्थाका बारेमा थप जानकारी आउला ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७