दुई दिन देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना


२१ भाद्र २०७८, सोमबार
Rain

काठमाडौं, २१ भदौं । अहिले देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञानका अनुसार आज (सोमबार) विहान देशभर सामान्यदेखि पूर्णतया वदली रहेको छ । प्रदेश–१, प्रदेश–२, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन / चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश–१, वागमती तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

मंगलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश–१, बागमती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

बुधबार भने देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७