कात्तिक २५ देखि मंसिर ९ सम्म जनगणना


२२ भाद्र २०७८, मंगलवार
tathyanka rUeRv6VDoW

काठमाडौं, २२ भदौं । सरकारले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको हो ।

स्वीकृत तालिकाअनुसार अब कात्तिक २५ देखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना हुने सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसअघि केन्द्रीय तथ्यांक विभागले असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो । तर कोरोना महामारीका कारण जनगणना स्थगित भएपछि नयाँ कार्यतालिनका बनाइएको हो । जसअनुसार जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने प्रवक्ता कार्कीले जानकारी दिए ।

केन्द्रीय तथ्यांक विभागका निर्देशक डुण्डीराज लामिछानेका अनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सूचीकरणको काम गर्ने छन् ।

‘गणकलाई कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइने छ,’ लामिछानेले भने, ‘तालिनमपछि उनीहरुदे कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणनाको मूल काम गर्नेछन ।’ नेपालमा वि.सं. १९६८ सालबाट औपचारिक रुपमा जनगणना शुरु भएको हो । तर, विभिन्न समयमा भएका घटनाक्रमले जनगणना अभियानलाई पनि प्रभावित पार्ने गरेको छ ।

यसअघि २००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो । नेपालमा पछिल्लो जनगणना २०६८ सालमा भएको थियो । जतिबेला नेपालको जनसंख्या २ करोड ६८ लाख भन्दा धेरै थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७