सरकार बनाउना साथ तालिबानद्वारा पाँच पत्रकार गिरफ्तार


२४ भाद्र २०७८, बिहीबार
Taliban Afghanistan

काबुल, २४ भदौं । अफगानिस्तानमा तालिबानले सरकार गठन गरेपछि पाँच जना पत्रकार गिरफ्तार भएका छन् । कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट बुधबार नै काबुलस्थित एक पत्रिकाको कार्यालयमा प्रवेश गरेर तालिबानले पाँच जना पत्रकारलाई गिरफ्तार गरेका हुन् ।

‘इटिलाट्रोज’ नामक पत्रिकाका प्रधान सम्पादक जाकी डार्याबीले आफ्ना पाँच सहकर्मीलाई तालिबानले गिरफ्तार गरेको पुष्टि गरे । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘इटिलाट्रोज दैनिक पत्रिकामा कार्यरत मेरा पाँच सहकर्मी पत्रकारलाई तालिबान समूहका व्यक्तिहरूले काबुलबाटै पक्राउ गरेर लगेका छन् ।’

तालिबान समूहले सत्ता कब्जा गरेपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारका अधिकारको पूर्ण सम्मान गर्दै त्यसमा कुनै अवरोध नगर्ने प्रतिबद्धता अन्तर्राष्ट्रिय समुदायसामु गरेका थिए। तर उनीहरूले कामचलाउ सरकार बनाएको भोलिपल्टै आफ्तो ताजा प्रतिबद्धताको उलङ्घन गरेको भन्दै सर्वत्र आलोचना सुरु भएको छ ।

अन्तर्राष्ट्रिय निकायहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्न र मानव अधिकार उलङ्घन नगर्न तालिबान समूहलाई अनुरोध गरेका छन् । केन्द्रीय राजधानी कब्जा गरेपछि सत्ता हातमा पारेको तालिबान समूहले आफ्नो जित भएको तीन सातापछि मात्रै प्रारम्भिक सरकार गठन गरेको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७