कांग्रेस महाधिवेशन : थप ११ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान

आजै वेबसाइटमार्फत सार्वजनिक गरिने


३० भाद्र २०७८, बुधबार
congress

काठमाडौं, ३० भदौं । सत्तारुढ नेपाली कांग्रेसले थप ११ जिल्लामा क्रियाशील सदस्यता विवाद समाधान गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलले बाँकी रहेका २० जिल्लामध्ये ११ जिल्लाको विवाद समाधान गरेको हो । निर्वाचन समितिका अनुसार विवाद टुंगिएका जिल्लाको क्रियाशील सदस्यताको नामावली आजै (बुधबार) साँझसम्म वेबसाइटमार्फत सार्वजनिक गरिने भएको छ ।

कार्यदलले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कैलाली, बर्दिया, बाजुरा, मोरङ, महोत्तरी, पर्सा, सिराहा, कपिलवस्तु र काठमाडौंको विवाद टुंग्याएको निर्वाचन समितिका सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए । ‘काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कैलाली, बर्दियालगायतका थप ११ जिल्लाको विवाद टुंगिएको छ,’ उनले भने, ‘हिजो (मंगलबार) प्याकिङ गरेर राखिएको छ । हामीले बुझेका मात्र छैनौं ।’

श्रेष्ठले बुधबार विवाद समाधान भएका जिल्लाहरुको सदस्यता नामावली निर्वाचन समितिमा आइपुग्ने पनि बताए । उनले बाँकी रहेका २० वटै जिल्लाको विवाद बुधबार नै टुंगिने सम्भावना रहेको पनि जानकारी दिए । ‘२० वटै जिल्लाको आज सकिन्छ भन्ने कुरा छ,’ अधिवक्ता श्रेष्ठले भने, ‘हिजै सक्ने तयारी थियो । केही बाँकी होला ।’ उनले बुधबार ३ बजे निर्वाचन समितिको बैठक बस्ने बैठकले विवाद टुंगिएका जिल्लाहरुमा निर्वाचन अधिकृतहरु तोकिने पनि जानकारी दिए ।

कांग्रेसले यसअघि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको क्रियाशील सदस्यता नामावली वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । त्यसअघि ५६ जिल्लाको नामावली सार्वजनिक गरेर वडा अधिवेशन शुरु गरिएको थियो । कार्यदलले नामावली बुझाएपछि निर्वाचन समितिले डडेल्धुरामा लोकेन्द्रबहादुर बमलाई निर्वाचन अधिकृत तोकेर वडा अधिवेशन गराएको छ । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेल्धुरामा सम्पन्न वडा अधिवेशनमा धाँधली भएको दाबी गर्दै स्वीकार नगर्ने अडान राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७