असोज दोस्रो साता अग्रिम टिकट खुलाइने


१ आश्विन २०७८, शुक्रबार
tickt

काठमाडौं, १ असोज । सरकारले दशैं, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १० /११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । यही असोज २१ गते घटस्थापनाभन्दा १० /११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल भइरहेको छ । यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँग समन्वय गरी अग्रिम टिकट खुलाउने गर्दै आएको छ ।

अग्रिम टिकट खुलाउनका लागि पटक पटक छलफल भइरहेकाले आउँदो सातासम्म निर्णय भइसक्ने विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए । उनका अनुसार गत साता यातायात व्यवसायीसँग दुईतीन चरणमा छलफल भएका आधारमा आउँदो सातासम्म कति संख्यामा टिकट खुलाएर कसरी यात्रुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पुर्‍याउने भनी निर्णय हुनेछ । प्रवक्ता भुसालले भने, ‘समयमै टिकट काटेर यात्रु घर जान सक्ने छन् ।’

सङ्घीय सरकारले पछिल्लो पटक गत असार २७ गते भाडादर समायोजन गरेको थियो । त्यसै आधारमा सबै प्रदेश सरकारले र स्थानीय तहले भाडा समायोजन गर्नुपर्नेमा अझै गरिसकेका छैनन् । व्यवसायीले भाडादर समायोजन चाँडो गर्न माग गर्दै आएका छन् । भाडा समयोजनको विषयले अग्रिम टिकट खुलाउन र यात्रुलाई समयमै घर पुग्न समस्या नहुने प्रवक्ता डा. भुसालले बताए । उनका अनुसार लामो दूरीका बाटामा सङ्घीय सरकारले निर्धारण गरेको नयाँ भाडादरका आधारमा हुने तथा मध्यम दूरीमा तत्काल समायोजन भएमा नयाँ भाडादर र नभएमा पुरानै भाडादरमा टिकट काटिनेछ । उनले भने, ‘प्रदेशका भाडाका विषयमा विभाग बोल्न मिल्दैन तर समयमै टिकट खुलाउन समस्या हुने छैन ।’

कोभिड सङ्क्रमणको जोखिम अझै रहेकाले त्यसको असर चाडपर्व लक्षित टिकटमा पर्ने देखिएको छ । जे जसरी भए पनि यात्रुलाई सजिलै घर जान पाउने व्यवस्था मिलाइने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए । उनले भने, ‘गत आवमा अग्रिम टिकट नखुलाएर पनि फर्कन चाहनेलाई व्यवस्था मिलाइएको थियो । यस वर्ष पनि सबैलाई घरघरमा पु¥याइनेछ ।’

कोभिडका कारण दैनिक एक हजार ५०० नयाँ सङ्क्रमित देखिइरहेकाले पनि समस्या हुन सक्ने भएकाले कुनै पनि ठाउँमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गर्न सक्ने महासचिव सिटौलाले बताए । ‘कोभिडकै कारणले कति यात्रु घर फर्कन्छन् भन्ने पनि अनुमान गर्न सकिएको छैन’, उनले भने, ‘महासङ्घले बैठक बसेर मोटामोटी अन्दाज गरेर त्यसैका आधारमा टिकट खुलाउने छ ।’

हरेक वर्ष चाडपर्व पहिले नै भाडा समायोजनका विषयमा चर्चा हुने गरेकामा यस वर्ष पनि कतिपय प्रदेश र स्थानीय सरकारले भाडा समायोजन नभएकाले चाँडो गर्न सम्बन्ध सरकारलाई महासङ्घले माग गर्दै आएको छ । लामो दूरीमा नयाँ भाडादर लागू भए पनि मध्यम दूरीमा के गर्ने भन्ने प्रश्न उब्जिएको जनाउँदै महासचिव सिटौलाले भने, ‘यहाँबाट १ नम्बर वा ७ नम्बर प्रदेश जाने बसको भाडादर स्पष्ट छ तर वाग्मती प्रदेशकै सिन्धुपाल्चोक वा दोलखा जाने भाडादर कति गर्ने भन्ने अन्योल छ ।’

सामान्यावस्थामा दशैं–तिहारभन्दा अघिको केही सातामा झण्डै २५ लाख यात्रु ओहोरदोहोर गर्ने भए पनि सङ्क्रमणका कारण त्यो संख्या यति हुन्छ भन्ने यकिन छैन । विद्यालय र कलेज नखुलेकाले कतिपय विद्यार्थी र अभिभावक गाउँमै रहेको, कतिपय व्यवसाय लामो समयसम्म ठप्प रहेकाले पनि दशैंमा सार्वजनिक सवारी साधनमार्फत हुने आवतजावत कम हुने आकलन गरिएको छ । कोभिडकै कारण गत वर्ष अग्रिम टिकट नखुलाइए पनि यात्रुलाई गन्तव्यमा पुग्न कुनै समस्या नभएको महासचिव सिटौलाले बताउनुभयो । अहिले पनि काम नभएका वा छिट्टै फर्कन मिल्ने व्यक्ति घर फकँदै गर्दा दशैंको मुखमा हुने भीड कम हुनेछ ।

संविधानानुसार एउटै स्थानीय तहभित्र चल्ने सवारी साधन व्यवस्थापनको जिम्मेवारी स्थानीय तह, एकभन्दा बढी स्थानीय तह र एउटै प्रदेशभित्र चल्नेको प्रदेश सरकार र एकभन्दा बढी प्रदेशमा चल्ने सवारी साधन व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारले गर्ने उल्लेख छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा २५ किमीसम्म छोटो दूरी, २५ देखि २५० किमीसम्म मध्यम र २५० किमीभन्दा बढीलाई लामो दूरीका रुपमा उल्लेख छ । विगतमा सबै दूरीमा यातायात व्यवस्था विभागले नै भाडादर निर्धारण गर्दै आएको थियो । अहिले त्यो जिम्मेवारी तीनै तहमा बाँडिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७