अख्तियारद्वारा एक सय बढीसँग बयान


४ आश्विन २०७८, सोमबार

कञ्चनपुर, ४ असोज । कञ्चनपुरमा वर्षौंदेखि भूमाफियाको कब्जामा रहेको महेन्द्रनगर नगर विकास समितिको सयौं बिघा जग्गा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयबाट विशेष टोली महेन्द्रनगर आएर छानबिन गरिरहेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गामा जस्तै अनियमितता भएको पाइएपछि अख्तियारको टोलीले विशेष छानबिन र अनुसन्धान गरेको हो ।

यसै क्रममा अख्तियारले जग्गा अनियमितता प्रकरणमा संलग्न रहेको आशंका गरिएका कर्मचारी तथा जग्गा कारोबार गर्नेहरूलगायत १०० जनाभन्दा बढीसँग बयान लिएको छ । जग्गा अनियमितताको विषय छानबिनका लागि भदौ तेस्रो साता कञ्चनपुर आएको अख्तियारको टोलीले उनीहरूसँग बयान लिएको हो ।

महेन्द्रनगर बजारको गुरुयोजना समेत मिचेर समितिका पदाधिकारीले तोक आदेशका भरमा र प्रक्रिया नै पूरा नगरी जग्गा बिक्री वितरण र लिजमा दिएका थिए । ६ सय ३८ बिघा जमिन रहेको सो समितिलाई हाल भीमदत्त नगरपालिकाको मातहत ल्याइएको छ ।
अख्तियार स्रोतका अनुसार हालसम्म समितिका कर्मचारीसहित जग्गा लिने १०० भन्दा बढीको बयान भइसकेको छ । केही ब्यक्ति बयान दिन आएका छैनन् । उनीहरूको नाम सार्वजनिक गरी बयानका लागि केन्द्रमै झिकाउने छानबिनमा संलग्न टोलीले जनाएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७