‘यो सरकार सिस्नु जस्तै, जता छोयो त्यतै पोल्ने’


७ आश्विन २०७८, बिहीबार
kp sharma oli 1

काठमाडौं, ७ असोज । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सिस्नुको संज्ञा दिएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई जता छोयो त्यतै पोल्ने सिस्नु जस्तै भएको टिप्पणी गरेका छन् । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले बिहीबार काठमाडौंमा आयोजना गरेको बृहत भेलामा बोल्दै उनले भने, ‘कस्तो सरकार आयो आयो–सिस्नु जस्तो । जता छोयो त्यतै पोल्छ । अर्को चुनावमा तातोपानी लगाएर ठीक पार्नुपर्छ ।’

अध्यक्ष ओलीले राजनीतिक सटर बन्द हुने भएपछि आफू नेतृत्वको सरकारलाई हटाउने काम गरिएको दावी समेत गरे । एमाले नेतृत्वको सरकार दुई वर्ष टिकेको भए विचराहरुको सटर बन्द हुने भएपछि आफूलाई सरकारबाट हटाउनु परेको उनको भनाइ थियो । अध्यक्ष ओलीले आफूले बनाई दिएको बालुवाटारको नयाँ प्रधानमन्त्री निवासमा प्रधानमन्त्री देउवा सर्न लागेकोमा आफूलाई खुशी लागेको भन्दै कटाक्ष गरेका छन् ।

‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजी हामीले बनाइ दिएको नयाँ घरमा सर्दै हुनुहुन्छ । सर्दै हुनुहुन्छ । एकचोटी ताली नबजाउनुस् । सर्दै हुनुहुन्छ । हाम्रो समयमा हामीले बनाएको हो । त्यसमा सर्दै हुनुहुन्छ । मलाई खुशी लाग्छ । उहाँले रिबन काट्नु हुनेछ, बत्ति बाल्नु हुनेछ । उद्घाटन गर्नुहुनेछ’, उनले थपे, ‘घर हामीले बनायौं रिबन उहाँले काट्नु हुन्छ । घर हामीले बनायौं बत्ती उहाँले बाल्नु हुन्छ । तार हामीले जोड्यौं । प्लग बनायौं उहाँले थिच्नु हुनेछ । यस्ता थुप्रै कामहरु जुन हामीले गर्‍यौं । त्यही अपराध हो । सही नसक्नु भएको यही हो । यो एमाले त अव दुई वर्ष सरकारमा टिक्ने हो भने विचराहरुको सटर बन्द हुन्थ्यो सटर। घ्यार्र सटर तान्नु पर्दथ्यो । राजनीतिक सटर छ नि ।’

अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको पार्टीलाई माके र माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई माने पार्टीको संज्ञा दिँदै राष्ट्रिय एकतामा फाटो ल्याउने गरिरहेको आरोप लगाए । ‘माके पार्टी, माने पार्टी हेर्नुस् । यी पार्टीले राष्ट्रिय एकताको नभई फाटोको खेती गर्छन् । राष्ट्रियताको मतलव छैन । सम्प्रभुता, राष्ट्रिय एकताको मतलव छैन । स्वाधिनताको मतलव छैन । भौगोलिक अखण्डताको मतलव छैन । राष्ट्रिय हितको मतलब छैन। राष्ट्रिय स्वाभिमानको मतलव छैन ।’

उनले भने, ‘तर त्यसलाई धुजाधुजा पार्ने खेती गरिएको छ । मलाई कुनै कमेन्ट गर्नु छैन । अघि माने पार्टीको यसो हेर्दै थिए । पदाधिकारी पार्टी भएछ । पदाधिकारी अलि ठाउँ भरिएको छैन क्यारे । खोज्दै हुनुहुन्छ उहाँहरु कोही विकाउको माल छ कि । कसैलाई तान्न सकिन्छ कि । यो पद दिन्छु भनेर तान्न सकिन्छ कि । खोज्दै हुनुहुन्छ तर त्यो पूरा भएको छैन । हाम्रो राजनीतिक त्यस्तो होइन । हाम्रो राजनीतिक आन्दोलनलाई विभाजित गर्ने होइन । देशलाई एकतावद्ध गर्ने राजनीति हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७