घनश्याम-योगेशहरुलाई एमालेमा ठाउँ छैन-प्रचण्ड : हाम्रो चिन्ता नलिनुस्, आफ्नै पार्टी राम्रो बनाउनुस्-घनश्याम


७ आश्विन २०७८, बिहीबार
prachanda ghanashyam

काठमाडौं, ७ असोज : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा माधव नेपाल समूहमा रहेका र हाल नयाँ पार्टी गठनमा साथ नदिएका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराईलगायतका नेताहरु पनि एमालेमा धेरै नटिक्ने बताएका छन् । घनश्याम–योगेशहरु ढिलो छिटो एमालेबाट निस्किने उनको जिकिर छ ।

पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गदै प्रचण्डले भने, ‘ती साथीहरुलाई देख्दा, ढिलो छिटो त्यहाँबाट निस्कछन् । त्यहाँ बस्ने ठाउँ छैन ।’

यता एमाले उपमहासचिव घनश्याम भुसालले भने प्रचण्डलाई एमालेको चिन्ता नलिन र आफ्नै पार्टीलाई राम्रो बनाउन सुझाव दिएका छन् ।

केहि दिनयता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेको आलोचना गर्दै दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै भुसालले यस्तो जवाफ दिएका हुन् । भुसालले सामाजिक सञ्जालमा आज (बिहीबार) लेखेका छन् , ‘कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो । हाम्रो पार्टी हामीले नै बनाउँछौं । तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं ।’

केहि दिनअघि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली जतिको झुट बोल्ने मान्छे नेपालमा अरु कोेही नभएको बताउँदै घनश्याम भुसाल, योगेश भट्टराईलगायत माधवकुमार नेपालबाट छुटिएर एमालेमै रहेका १० नेताको समेत प्रसङ्ग जोडेका थिए । प्रचण्डले केपी ओली झुट बोल्ने नेता भन्ने जान्दा जान्दै पनि तेस्रो धारका १० नेता ओली समक्ष आत्मसमर्पण गर्न पुगेको आरोप लगाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७