वामदेव गौतमको राजीनामा एमालेद्वारा अस्वीकार


८ आश्विन २०७८, शुक्रबार
bamdev gautaam

काठमाडौं, ८ असोज । नेकपा एमालेले उपाध्यक्ष वामदेव गौतमले पार्टीका सबै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकार गरेको छ ।
भदौ १८ गते पार्टीबाट राजीनामा दिएका गौतमको राजीनामा स्वीकार नगरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । ‘राजीनामा दिए पनि उहाँ कतै जानु भएको छैन,’ तामाङले भने, ‘हामीले निर्वाचन आयोगमा उहाँसहितको विवरण अपडेट गर्न पठाइसकेका छौं ।’

एमाले विभाजित भएपछि पनि तटस्थ गौतमले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर जान पनि बार्गेनिङ गरिरहेका थिए । तर एमालेबाट राजीनामा दिए पनि उनी हाल कतै गएका छैनन् । गौतमलाई नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि स्वागत नगरेपछि अहिले यता न उताको अवस्थामा छन् ।

अध्यक्ष ओलीसँग मिलेर कुनै हालतमा एमालेमा बस्न नसकिने अडान लिएका उनले पछिल्लो समय नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग संवाद बढाएका थिए । तर समाजवादीले बिहीबार सबै पदाधिकारीको टुंगो लगाउँदा पनि उनले ठाउँ पाएनन् ।

यसअघि गौतमले एकीकृत समाजवादीमा जान नेपालले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद स्वीकार्नुपर्ने अडान लिएका थिए । ओलीकै कारण एमालेमा बस्न नसक्ने निचोड निकालेका उनले राजीनामा दिएपछि समाजवादीमा जान शर्त राखेका थिए । उनी पुस ५ मा प्रतिनिधिसभा विघटन भएयता तटस्थ बस्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७