एमालेमा फेरि समस्या


८ आश्विन २०७८, शुक्रबार
kp kp1632473546

काठमाडौं, ८ असोज : नेकपा (एमाले) भित्र फेरि समस्या सुरु भएको छ । आन्तरिक एकताका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयनमा पार्टी नेतृत्व अनिच्छुक देखिएको भन्दै दोस्रो तहका नेताहरुले असन्तुष्टी जनाएका हुन् ।

शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा १० बुँदे सहमतिलाई कार्यान्वयनको एजेन्डा बनाउन उपाध्यक्ष भीम रावलले माग गरेका थिए ।

उपाध्यक्ष रावलले १० बुँदे कार्यान्वयन नगर्ने भए खारेज गरेको घोषणा गर्न समेत चुनौती दिएका थिए। उनले अध्यक्ष ओलीलाई सोधका थिए, ‘१० बुँदे सहमति इमान्दारपूर्वक कार्यान्वयन र जेठ २ अघिको संगठनात्मक संरचना कायम होस्। यदि १० बुँदे कार्यान्वयन नगर्ने हो भने खारेज भयो भनेर घोषणा गर्नुस्, सक्नुहुन्छ ?’ जवाफमा अध्यक्ष केपी ओलीले स्थायी कमिटीको बैठकबाट टुंगो लगाउने बताएका थिए ।

विधान महाधिवेशनको पूर्व तयारीस्वरुप विभिन्न दस्तावेजमाथि छलफल गर्न सुरु भएको बैठकमा झपट रावल र भानुभक्त जोशीले पनि सुदूरपश्चिममा समस्या देखिएको भन्दै रावलको मागलाई समर्थन गरेका थिए । सुदूरपश्चिममा जेठ २ को संरचनाअनुसार भीम रावल इन्चार्ज हुनुपर्ने हो । तर अध्यक्ष ओलीले माओवादी केन्द्र छोडेर आएका लेखराज भट्टलाई इन्चार्ज बनाउने घोषणा गरेपछि रावल असन्तुष्ट छन् ।

सुदूरपश्चिम सहित प्रदेश १ को सुनसरी र ताप्लेजुङ जिल्लामा समस्या देखिएको छ । यी दुई जिल्लामा जेठ २ मा फर्किन समस्या भएको छ । शुक्रबारको एमाले बैठकमा तीनवटा दस्तावेजमा समूहगत छलफल गर्न आठवटा समूह बनाइएको छ ।

एमालेमा तेस्रो धारका नेताहरुमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७