तीन महिनाको योजनामा घाँस काट्न जाँदा धामीको हत्या, तीन आरोपी पक्राउ


११ आश्विन २०७८, सोमबार
Pakraun rautahat

रौतहट, ११ असोज । रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारका ५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरको टोलीले हत्यामा संलग्न भएको आरोपमा चन्द्रपुर नगरपालिका–३ का ४५ वर्षीय प्रल्हाद फुयाँल, पसाको पर्सागढी नगरपालिका–१ सिर्जनाटोलका २४ वर्षीय रमेश प्रहरी र नवलपरासी पुर्वको कावासोती नगरपालिका–८ का २३ वर्षीय सूर्य भण्डारीलाई पक्राउ गरेको हो ।

घटनाको मुख्य योजनाकार चन्द्रपुर नगरपालिका–४ कप्तानटोलका ३८ वर्षीय सहदेब भन्ने डोलप्रसाद बोलखे भने फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धामी झाँक्रीको काम गर्दै आएका चन्द्रपुर नगरपालिकाका–५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको शव २६ भदौमा गैंडाटारस्थित कालापानी सामुदायिक वनभित्र रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

गत भदौ २६ गते घाँस काट्न गएका चन्द्रपुर–३ का ५० वर्षीय घोरासैनीसँग १८ वर्ष अघिको रिसिबीको बदला लिने उद्देश्यले हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । कालापानी सामुदायिक जंगलमा हत्या गरेपछि घोरासैनीको शव साढे तीन फिटको रुखमा झुण्ड्याएर आत्महत्याको रुप दिन खोजिएको प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

प्रहरीले घटना शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि नवलपरासी पूर्वका सूर्यबहादुर भण्डारी, चन्द्र नगरपालिका, गैंडाटारका प्रल्हाद फुयाँल र पर्साको पर्सागढी नगरपालिकाका रमेश पहरीलाई पक्राउ गरेको छ । प्रहरीले शुरुमा पर्साका २४ वर्षीय रमेश पहरीलाई पक्राउ गरेको र उनको वयानका आधारमा अरु दुई जना पक्राउ परेका हुन् । रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार पहरीले कप्तान टोलका सहदेव भन्ने डोलप्रसाद बोलखेको तीन महिनाको योजनामा घटना भएको बताएका छन् ।

बोलखेको परिवारका सदस्य बिरामी भएको दोष धामीलाई लगाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको घिमिरेको भनाइ छ । बोलखेले घोरासैनीको हत्याका लागि ३ लाख रुपैयाँ दिएको पनि अभियुक्तहरुले बयानका क्रममा बताएको एसपी घिमिरेले बताए ।

पक्राउ परेका तीनै जनालाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७