दशैंको मुखमा गोरखाको चुमनुब्री गाउँपालिकामा हेलिकप्टरबाट चामल ढुवानी


१४ आश्विन २०७८, बिहीबार
chamal pfaMYQpzFm

गोरखा, १४ असोज । गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा हेलिकप्टरबाट चामल ढुवानी गरिएको छ । खाद्यान्नको सङ्कट देखिन थालेपछि चुमनुब्री गाउँपालिका–६ र ७ वडाका केही बस्तीमा नेपाली सेनाको हेलिकप्टरमार्फत चामल लगिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी गोरखा डिपोका सूचना अधिकारी शिव सुनारले बताए ।

चुम्चेतमा ३४ क्विन्टल र छेकम्पारमा ५९ क्विन्टल चामल लगिएको उनले जानकारी दिए । चामल वडाध्यक्षको जिम्मा लगाइएको कम्पनीले जनाएको छ । चुम उपत्यकाको छेकम्पार र चुम्चेत प्रवेश गर्ने नाकाअन्तर्गत लोक्पामा पहिरो जाँदा बाटो बन्द भएको हो ।

पैदलमार्गमै पर्ने सर्दिभिरको क्यान्टिलिभर पुलमा पनि पहिरोले क्षति पुर्‍याएपछि त्यहाँ खच्चडमार्फत गरिने खाद्यान्न ढुवानीको काम बन्द भएको हो । असार पहिलो हप्ता मनास्लु पदमार्गअन्तर्गत यारुबगर र जगत खण्डको पैदलमार्ग बुढीगण्डकी कटानका कारण बन्द भएको थियो । आउजाउमा सहजताका लागि दुवै ठाउँमा ग्याबिन जाली भरेर बाटो मर्मत भएसँगै खाद्यान्न ढुवानी सुरु भएको थियो ।

भदौ पहिलो हप्ताबाट लोक्पाको डुयुखोलामा पहिरो खसेर चुमनुब्री–६ चुम्चेत र वडा नम्बर ७ को छेकम्पार पुग्ने बाटो बन्द भएको हो । खच्चडमार्फत हुने खाद्यान्न ढुवानी रोकिएपछि दुई वडाका सबैजसो बस्तीमा खाद्यान्नको अभाव भएको हो । पहिरोले क्षति पुर्‍याएको क्यान्टिलिभर पुल मर्मतका लागि समन्वयको काम भइरहेको चुमनुब्री गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७