प्रचण्डदेखि विप्लवसहितका पूर्व माओवादी नेता एउटै मञ्चमा

काठमाडौं, १५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवसम्मका पूर्व माओवादी नेताहरु आज (शुक्रबार) एउटै मञ्चमा सहभागी देखिने भएका छन् ।
जनयुद्धमा गाइएका गीतहरु समेटेर लेखिएको ‘सपनाको प्रतिबिम्ब’ संग्रहको विमोचनका सन्दर्भमा जनयुद्धमा सहभागी भएका नेताहरू एउटै मञ्चमा उपस्थित हुन लागेका हुन् । तनहुँका दिलिपकुमार श्रेष्ठले लेखेको उक्त संग्रहको दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा विमोचन हुँदैछ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ एउटै मञ्चमा सहभागी हुन लागेका हुन् ।
जनयुद्धको क्रममा डा. भट्टराई क्रान्तिकारी जनपरिषद् नेपालका संयोजक थिए भने विप्लव पश्चिम कमाण्ड इञ्चार्ज थिए ।