मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि सत्ता गठबन्धनको बैठक बस्दै


२१ आश्विन २०७८, बिहीबार

काठमाडौं, २१ असोज । मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताउँदै आएको छ । गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्रालयको मोटामोटी भागबण्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेकाले गठबन्धनको बैठक बस्न लागेको हो ।

गठबन्धनमा रहेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकपछि गठबन्धनको बैठक बस्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । ‘गठबन्धनको बैठक बस्नेबारे छलफल भइरहेको छ । समय निश्चित भैसकेको छैन’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘सकेसम्म कुरा टुङ्ग्याएर आज बेलुका मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ ।’

एकीकृत समाजवादीको बैठक अहिले जारी छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डाबारे छलफल भएर मोटामोटी सहमति भएको थियो । त्यसक्रममा काँग्रेसले ७, माओवादी केन्द्रले ६ र समाजवादी र जसपाले चारचार वटा मन्त्रालय पाउने गरी कुराकानी भएको थियो । तर, आफ्नो भागमा थोरै मन्त्रालय भाग लगाएको भन्दै माधव नेपालले असन्तुष्टि जनाएका थिए ।

गठबन्धनको बैठकपछि आफू निकट नेताहरूसँगको कुराकानीमा पनि अध्यक्ष नेपालले अझै केही कुरा मिल्न बाँकी रहेको बताएका थिए । ‘अझै केही कुरा मिलाउन बाँकी छ । मन्त्रिपरिषद विस्तार अघि गठबन्धनबीच पुन छलफल गरेर टुङ्गो लाग्छ’, अध्यक्ष नेपालले निकट नेताहरुलाई भनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७