विवेकशील साझा : मिश्रविरुद्ध पाण्डेको ‘काउन्टर’ दस्तावेज, दिए तीन विकल्प


२१ आश्विन २०७८, बिहीबार
RabindraMishra MilanPandey DBqCDAnLQn

काठमाडौं, २१ असोज । विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीभित्रको समस्या र निकास बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । समस्याको निकास व्यक्ति भन्दामाथि विधि नामक दस्तावेजमार्फत् पाण्डेले तीन आपत्ति पेश गरेका हुन् ।

पाण्डेले पार्टीभित्र देखा परेको विवाद समाधानका लागि तीन विकल्प सुझाएका छन् । केन्द्रीय सदस्यहरुलाई एक दस्तावेज इमेल गर्दै उनले पार्टीलाई एकढिक्का बनाउन तीन बुँदे प्रस्ताव अघि सारेका हुन् । पहिलो बुँदामा ‘दुवै दस्तावेजलाई थाँती राखेर सम्झौता पत्र अनुसार अघि बढ्न’ भनिएको छ । ‘मिलन पाण्डे वा रवीन्द्र मिश्रले बोलिसकेको भनेर इगो लिएर बसिराखे त्यो सबैभन्दा अराजनीतिक काम हुने’ भनिएको छ ।

दोस्रो विकल्पमा विवाद समाधानका लागि कार्यदल बनाउन सुझाव दिइएको छ । ‘पार्टीमा अध्यक्ष र संयोजक बाहेक १२८ जना केन्द्रीय सदस्य पनि हुनुहुन्छ, साथीहरुले हामीले हेरिरहेको ठाउँभन्दा भिन्न कोणबाट समाधान निकाल्न निकाल्न सक्नुहुन्छ, त्यसैले कार्यदल बनाऔं’ पाण्डेले भनेका छन् । कार्यदललाई ७ दिनको समय दिएर साझा एजेण्डा तय गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

पाण्डेले अध्यक्ष र संयोजक दुवैले राजीनामा दिएर केन्द्रीय कमिटीभित्रबाटै तेस्रो व्यक्तिको नेतृत्वमा महाधिवेशनमा जान सकिने विकल्प पनि सुझाएका छन् । त्यतिबेला आ–आफ्नो दस्तावेज लिएर सदस्य माझ जान सकिने भनेका छन् ।

पाण्डेले विधान र नीति सम्मेलन तथा प्रदेश र केन्द्रको महाधिवेशन छुट्टाछुट्टै गर्न सुझाएका छन् । उनले मंसिर १७, १८ र १९ गते काठमाडौंमा नीति सम्मेलन र प्रदेश तथा केन्द्रीय महाधिवेशन २४ पुसमा गर्न भनेका छन् ।

यी तीन प्रस्ताव आफूले अध्यक्ष मिश्रलाई पनि राखेको पाण्डेले उल्लेख गरेका छन् । ‘उहाँले अन्य ग्रुपसँग एकीकरणका लागि छलफल गर्दै गरेको कुरा गर्दै एक हप्ताको समय लिनुभएको पनि एक हप्ता भएको छ’ पाण्डेले लेखेका छन्, ‘अब निकास खोजौं, कृपया भएको पार्टी नबिगारौं ।’ उनले दिइएको विकल्पमाथि छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाउन पनि आग्रह गरेका छन् ।

रवीन्द्र मिश्रप्रति लक्षित गर्दै एकीकरण नसकिदै सम्झौता पत्र च्यातेको, विधि÷विधान लत्याएको र राजनैतिक एजेन्डामा धोका दिएर ‘मार्ग परिवर्तन’ गरेको आरोप लगाएका छन् । उनले प्रस्तुत गरेको दस्तावेजमा भनिएको छ,’ केपी–प्रचण्ड, प्रचण्ड–देउवा वा अन्य गठबन्धन वा नेताहरू ९-९ महिना सरकार चलाउँदा होस् वा तालमेल गर्दा आफूले गरेको कुरा स्वीकार्छन् र सत्ता छाड्छन् । वाचा पूरा गर्छन् ।

तर हामी वैकल्पिक राजनीति गर्ने भनिएका दलहरूमा त्यत्ति पनि इमानदारी देखाउन सकेनौं। विवेकशील साझा पार्टी पुनर्गठन गर्न विवेकशील र साझा पार्टी एकीकरण गरेपछि हामीले सम्झौता पत्रमा उल्लेख गरिएको विचार, नीति र सम्झौतालाई लात हान्यौं । एकीकरणको दिन मुस्कुराएर ‘निर्विकल्प शक्ति’ बनाउने उद्घोषलाई समाल्न सकेनौं ।’

पाण्डेले रवीन्द्र मिश्रको नेतृत्वमा दुईचोटी एकीकरण भए पनि सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका छन् । पाण्डेले भनेका छन्, ‘पहिलो चोटि त गल्ती भन्न हुन्थ्यो होला, दोस्रो चोटीलाई के भन्ने ? सम्झौता पत्र नमान्नु राजनैतिक बेइमानी हो कि होइन ?’

पाण्डेले भने, ‘एकता महाधिवेशनको कुरा हाम्रो एकीकरणकै अंग हो । एकीकरण सम्झौताकै अंग हो । हाम्रो पदीय जिम्मेवारीको धरातल सम्झौता पत्र हो । के त्यही सम्झौता पत्र उल्लंघन गरेर हामी यही पदमा बस्न मिल्छ ? नैतिकता भनेको के अरूलाई पढाउने पाठ हो ?’

पार्टीको मूल्यमान्यता ‘इमानदारिता’ रहेको भन्दै के सम्झौता पत्र नमान्नु, के पार्टीको विधान नमान्नु राजनैतिक इमानदारिता हो ? भन्दै मिश्रलाई प्रश्न गरेका छन् । पाण्डेले भने, ‘पार्टीको प्रमुख उद्देश्य सहभागितामूलक लोकतन्त्र र संघीयतालाई संस्थागत गर्न योगदान पुर्‍याउने पार्टी स्थापनाको दिनदेखि निर्वाचन आयोगमा दर्ता विधानमा स्पष्टसँग संघीयतालाई संस्थागत गर्ने भनेर लेखिएको छ । तपाई र म सदस्य बन्दा यही विधानलाई मान्छु भनेर सदस्यता फारमको अन्तिममा टिक लगाएर सदस्य बनेको होइन ? तपाईंको राजनैतिक विचारलाई म सम्मान गर्छ । तर, पार्टीको प्रमुख नेतृत्वले विधानको सबैभन्दा पहिलो उदेश्यलाईनै लत्याएर यसरी मिडियाबाजी गर्न मिल्छ ? यो हाम्रो कुन चाही पद्धतिभित्र पर्छ ?’

पार्टीमा केन्द्रीय कमिटीले राजनीतिक संवाद समिति बनाएको भन्दै समिति र समितिका संयोजकलाई नै जानकारी नदिइ एकलौटी विभिन्न पक्षसँग वार्ता गर्नु समानान्तर गतिविधि हो कि होइन ? यो पार्टीमा समान्तर गतिविधि कसले गर्दै छ ? पाण्डेले प्रश्न गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७