यी प्रदेशमा वर्षाको सम्भावना, कहिले बाहिरिन्छ नेपालबाट मनसुन ?


२२ आश्विन २०७८, शुक्रबार
kathamandu

काठमाडौं, २२ असोज । औसत समय कटेको ६ दिन बितिसक्दा पनि नेपालमा मनसुन अझै सक्रिय छ । सामान्यत नेपालबाट मनसुन अक्टोबर २ तारिकबाट बाहिरिन्छ । तर, यो वर्ष नेपालमा मनसुन अझै केही दिन सक्रिय रहने देखिएको मौसमविदले जानकारी दिएका छन् ।

यद्यपि, भारतको राजस्थानबाट मनसुन हट्न थालेको र त्यो सर्दै नेपाल प्रवेश गरेर यहाँबाट पनि बाहिरिने गर्छ । ‘नेपालबाट मनसुन हट्न भारतको राजस्थानबाट मनसुन हट्न सुरु हुनुपर्छ । त्यहाँबाट हट्न शुरु भएको एक हप्तामा नेपालबाट बाहिरिन्छ’, मौसमविद् समीर श्रेष्ठले भने, ‘तीन दिन अगाडिबाट राजस्थानबाट मनसुन हट्न शुरु भएको छ ।’ अष्टमीसम्म रहने र त्यसपछि भने नेपालबाट मनसुन बाहिरिने उनले जानकारी दिए ।

यसैबीच, प्रदेश–१ र गण्डकी प्रदेशका केही स्थानमा आज (शुक्रबार) बिहान हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१ र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । काठमाडौंमा आज मौसममा बदली भइरहने र छिटफुट वर्षाको सम्भावना रहेको मौसमविद् श्रेठको भनाइ छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७