हट्यो मनसुन, दशैं अवधिभर पानी पर्ने सम्भावना कम


२६ आश्विन २०७८, मंगलवार
sky clear

काठमाडौं, २६ असोज । मनसुन (वर्षा यामको मौसम प्रणाली) नेपालबाट सोमबार बिदा भइसकेको छ । मौसमविद्का अनुसार मनसुन बाहिरिनुपर्ने औसत मिति यही अक्टोरबरको २ तारिख नै भए पनि ९ दिन ढिला गरी मनसुन सोमबार देशका सबै क्षेत्रबाट हटेको हो ।

अहिले हाम्रो देशमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नरहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) मौसम सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य (आकाशको अधिकांश भागमा बादल, थोरै मात्र खाली) बदली छ भने बाँकी स्थानमा मौसम आंशिक (आकाशको थोरै भागमा मात्र बादल, अरू खाली) बदली छ ।

दशैं अवधिभरको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् । नेपालबाट यो वर्षको मनसुन बाहिरिसकेको र पानी पार्ने प्रणाली तत्काल नदेखिएकाले आज फूलपातीदेखि टीकाको दिनसम्म पानी पर्ने सम्भावना खासै नभएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार आजदेखि टीकाको दिनसम्म मौसम सामान्य मात्रै बद्ली हुनेछ । झरी पर्ने र ठूलो पानी पर्ने सम्भावना छैन । महाशाखाले मंगलबार (आज) बिहान ६ बजे आज समेत तीन दिन अर्थात् असोज २८ गते रातिसम्मको मौसम अनुमान सार्वजनिक गरेको छ ।

असोज २८ अर्थात् दशैंको नवमीसम्म मौसम यस्तो रहने अनुमान–

(नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले बिहान १०-११ बजेदेखि साँझ ६ बजेसम्मलाई सम्झिनु पर्छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मको अवधिलाई बुझ्नु पर्छ) ।

असोज २६ गते (आज)
दिउँसो :
देशभर मौसम सामान्यतया सफादेखि आंशिक बदलीसम्म रही पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति : देशभर सामान्यतया सफादेखि आंशिक बदली रही पहाडी भूभागका वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

असोज २७ गते
दिउँसो
: देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रही पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

असोज २८ गते
दिउँसो :
देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रही प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७